२०८१ बैशाख ७ , शुक्रवार

जयनन्द लामाको सालिक स्थापना

सुनाखरी न्युज/ काठमाडौं । दिवंगत अभिनेता तथा गायक जयनन्द लामाको स्मृतिमा सिन्धुपाल्चोकको बाह्रबिसेमा सालिक स्थापना गरिएको छ । जयनन्द लामा स्मृति कोषले १२ फिट अग्लो उक्त सालिकलाई आठ लाख रुपैयाँ खर्चमा निर्माण गरेको हो ।

 

डम्फु बजाएर नाचिरहेको भावमा सालिकको डिजाइन गरिएको छ । लामा अभिनित अन्तिम फिल्म ‘ए साथी सुन’ चैत १० गते प्रदर्शनको तयारीमा छ । गत वर्ष फागुन ११ गते उनी भक्तपुरको मध्यपुरथिमि-१ स्थित निवासको गेटअघि उनी मृत भेटिएका थिए । नृत्यकारबाट कलाकारिता सुरु गरेका उनले ३० को दशकमा ‘मनको बाँध’बाट फिल्ममा अभिनय यात्रा थालेका थिए । पहिलो क्यासेट एल्बम निकाल्ने गायक समेत जयनन्द नै थिए । उनले दुई सय बढी गीत गाएका छन् ।

पहिलो तामाङ भाषाको फिल्म ‘छोमरी छोरङान’को लेखन तथा निर्देशन समेत जयनन्दले गरेका थिए । उनका ‘चुइँ चुइँ चुइँकने जुत्ता’, ‘कलकत्ते काइँयो’, ‘मुलाको चाना’ जस्ता थुप्रै लोकगीत अहिले पनि चर्चित छन् । उनले ‘नेपाल लोक स्टार’मा निर्णायकको भूमिका समेत निर्वाह गरेका थिए ।