२०८१ बैशाख १२ , बुधवार

बेलिकन क्रसिङ् र स्मार्ट लाइट परीक्षणको नतिजा सकारात्मक

सुनाखरी न्युज/ काठमाडौं । पैदल यात्रीको सुरक्षाका लागि काठमाडौँ महानगरपालिकाले बेलिकन क्रसिङ् परीक्षण गरेको छ । केन्द्रीय कार्यालय परिसर बाग दरबारमा शुक्रवार यसको परीक्षण गरिएको थियो ।

 

महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठ, नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित अधिकारीहरु परीक्षण अवलोकनमा सहभागी हुनुभएको थियो । परीक्षणको नतिजा सकारात्मक देखिएको अधिकारीले अवलोकनपछि प्रतिक्रिया दिनुभयो । महानगरपालिकाले सडक सुरक्षा, सार्वजनिक यातायात प्रणालीको सुधार, रात्रीकालीन आवागमन सहजीकरण तथा पैदलयात्री मैत्री सडक निर्माणका लागि विभिन्न अध्ययन र प्रयोगहरु गरिरहेको छ । प्राप्त नतिजाका आधारमा उत्कृष्ट प्रणाली जडान गर्ने योजनाअनुरुप अध्ययन र प्रयोग भइरहेका हुन् ।

 

बेलिकन क्रसिङ् सवारी गुड्ने सडक किनारामा राखिन्छ । पैदल यात्रीले सडक पार गर्नु प¥यो भने प्रणालीमा राखिएको स्वीच थिचेपछि सवारी गुड्ने सडकतर्फ रातो बत्ती र जेव्रा क्रसिङ्मा हरियो बत्ती बल्छ । महानगरका ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठका अनुसार बालबालिका, अशक्त तथा आपतकालीन अवस्थामा सडक पार गर्नु पर्ने अवस्थाको सुविधाका लागि यो प्रणाली जडान गर्ने अन्तरराष्ट्रिय अभ्यास छ ।

 

क्रसिङ्सँगै स्मार्ट लाइटको पनि परीक्षण भएको छ । यो जेव्रा क्रसिङ् भएको ठाउँमा सडकबत्तीमा जडान हुने प्रणाली हो । प्रणाली जडान गरिएको पोलमा संकेतसहितको बोर्ड हुन्छ । यो बोर्डतर्फ हात हल्लाएपछि बत्तीको प्रकाश थप चहकिलो हुन्छ । यसबाट पैदल यात्रीलाई सडक पार गर्न सहज हुन्छ । बत्ती चहकिलो बलेपछि सवारी साधनलाई सडकमा पैदल यात्री भएको थाहा पाउन सजिलो हुन्छ । अन्य समयमा सामान्य प्रकाशमा बत्ती बलिरहेको हुन्छ ।

 

विकासकर्ताको प्रणाली हे¥यौ । अब यसलाई पैदल यात्रीको प्रयोगका परीक्षण गर्न सहरका २ ठाउँमा नमूना जडान गर्ने योजनामा छौँ । श्रेष्ठले योजना सुनाउनुभयो ।