२०८० चैत्र १५ , बिहिवार

मेट्रोरेलको नेतृत्व लिन चिरीबाबुको बालेन्द्र शाहलाई अनुरोध

सुनाखरी न्युज/ काठमाडौं । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले उपत्यकाका लागि मेट्रोरेल निर्विकल्प भएको बताउँदै काठमाडौँ महानगरलाई यसको नेतृत्व लिन अनुरोध गर्नुभएको छ ।

 

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहलाई भेट्न काठमाडौँ महानगर कार्यालय पुगेका महर्जनले सङ्घीय सरकारसँग सहकार्य गर्दै काठमाडौँ महानगरले मेट्रोरेलका लागि लिने नेतृत्वको ललितपुर महानगर सहयात्री बन्ने प्रतिबद्धता व्यक्त गरे । उहाँले भन्नुभयो, ‘ उपत्यका दुई महानगरबिच समन्वय र सहकार्य भए ठुला योजना सम्पन्न गर्न सक्छौँ ,ललितपुर काठमाडौँको सहयात्री बन्छ, काठमाडौँ महानगरले यसको नेतृत्व गर्नुपर्छ । ’

 

ललितपुर नगर प्रमुख महर्जनले उपत्यका अन्य नगरपालिकासँगको हातेमालो अपरिहार्य भएको बताउनुभयो । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहले मेट्रोरेल उपत्यकाका लागि अत्यावश्यक भएको बताउँदै अन्य नगरपालिकासँग मेट्रोरेलका सन्दर्भमा अब योजनाबद्ध रूपमा छलफल सुरु गर्ने बताउनुभयो ।