२०८१ बैशाख १३ , बिहिवार

सन्दीपलाई थुनामै राख्ने कि नराख्ने भनी सुनुवाइ हुँदै

सुनाखरी न्युज/ काठमाडौं । बलात्कार आरोपमा मुद्दा खेपिरहेका राष्ट्रिय टिमका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सन्दीपलाई धरौटीमा छाड्ने की थुनामै राख्ने भन्ने मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुन लागेको हो । उनले क्रिकेट खेल्नका लागि विदेश जान पाउनु पर्ने मागको मुद्दामासमेत आज सुनुवाइ हुनेछ ।

 

क्रिकेट खेल्न विदेश जान पाउँ भन्दै सन्दीपले दायर गरेको मुद्दामा शुक्रबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले आजका लागि पेशी तोक्न आदेश दिएको थियो ।महान्यायाधीवक्ताको कार्यालयले माघ १७ गते सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएको थियो । निवेदनमा गम्भीर अपराधको मुद्दामा थुनामै राखेर मुद्दा प्रक्रिया अगाडि बढ्नु पर्ने भनिएको छ । आजको सुनुवाइ यसै विषयमा केन्द्रीत हुनेछ ।

 

गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सन्दीप पुस २९ गते धरौटी बुझाएर थुनामुक्त भएका थिए । तर उक्त आदेशमा उनलाई विदेश जान भने रोक लगाएको थियो । एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई कार्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।