२०८१ बैशाख ४ , मंगलबार

सरकारको लक्ष्य अनुरुप भएन राजस्व संकलन

सुनाखरी न्युज/ काठमाडौं । लक्ष्यअनुसार राजश्व संकलन हुन नसक्दा सरकारी खाता निरन्तर ऋणात्मक बन्दै गएको छ। आम्दानीभन्दा खर्च धेरै हुँदा सरकारको खाता ऋणात्मक बन्दै गएको हो।

 

महालेखा नियन्त्रकको कार्यायलले फागुन ११ गतेसम्म सरकारी खाता १ खर्ब २७ अर्ब रुपैयाँले ऋणात्मक बनेको जनाएको छ। अर्थात आम्दानीभन्दा खर्च धरै भएको हो। बिहीबारसम्म सरकारी खातामा ५ खर्ब ७४ अर्ब ४२ करोड ३ लाख रुपैयाँ जम्मा भएको छ भने कुल खर्च ७ खर्ब १ अर्ब ४२ करोड ४२ लाख रुपैयाँ भइसकेको महालेखाको तथ्यांकले देखाएको छ।

सरकारले बिहीबारसम्म ५ खर्ब ३४ अर्ब ६५ करोड १५ लाख रुपैयाँ राजश्व संकलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ३५ अर्ब ७३ करोड ५१ लाख रुपैयाँ राजश्व उठाइएको थियो। यस अवधिमा सरकारलाई करमार्फत ४ खर्ब १ अर्ब ८३ करोड ८१ लाख रुपैयाँ र गैरकरमार्फत ५२ अर्ब ८१ करोड ३४ लाख रुपैयाँ प्राप्त भएको छ भने ४ अर्ब ८० करोड २० लाख रुपैयाँ अनुदान पाएको छ। यस्तै अन्य शिर्षकमा ३४ अर्ब ९६ करोड ६ लाख रुपैयाँ सरकारले प्राप्त गरेको महालेखाले जनाएको छ।

 

त्यसैगरी महालेखाको तथ्यांकअनुसार बिहीबारसम्म खर्चतर्फ चालु शीर्षकमा ५ खर्ब ५४ अर्ब ५० करोड ५ लाख रुपैयाँ खर्च भएको छ। विकास खर्चतर्फ ७१ अर्ब ३२ करोड ४९ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ७५ अर्ब ५९ करोड ८ लाख रुपैयाँ खर्च भएको छ। यी तीन शिर्षकमा सरकारले क्रमशः ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख रुपैयाँ, ३ खर्ब ८० अर्ब ३ करोड ४५ लाख रुपैयाँ र २ खर्ब ३० अर्ब २१ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।