२०८१ बैशाख १४ , शुक्रवार

नयाँ गठबन्धनको भागबण्डा: प्रचण्डपछि माधव नेपाल प्रधानमन्त्री !

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहितका दलले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेका छन् । यो निर्णय सँगै १० पुसमा बनेको सत्ता गठबन्धन भत्किएको छ र, ८ दलको नयाँ गठबन्धन बनेको छ ।

शुक्रबार बिहान

कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाका नेताहरु समेतको सहभागितामा ८ दलको बैठक भयो ।

बैठकको सुरुमा प्रधानमन्त्री प्रचण्डले संसदको सबभन्दा ठूलो दल कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने प्रस्ताव गरे । जबकि बिहान भएको छलफलमा एकीकृत समाजवादीले राष्ट्रपतिमा दाबी गरेको थियो भने जसपाका अध्यक्ष उपेन्द्र यादवसँगै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले समर्थन गरेका थिए । कांग्रेस नेताहरुले भने आफ्नो दलले राष्ट्रपति नपाउने हो भने कसरी सहमति होला भनेर अस्वीकार गरेको थियो ।

तर ८ दलको बैठकमा प्रचण्डले कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव गर्नासाथ एकीकृत समाजवादीका अध्यक्ष नेपालले समर्थन गरे । अरु दलले पनि समर्थन गरे, कांग्रेस नेताहरुले धन्यवाद दिए । ८ दलको बैठक केहीबेरमै सकियो । एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालाले सञ्चारकर्मीहरुसँग भने, ‘राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने टुंगो लागेको छ । उम्मेदवारका सन्दर्भमा कांग्रेसले निर्णय गर्छ ।’

जनमत, लोसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाका नेताहरु बाहिरिएपछि बाँकी चार दलको फेरि बैठक बस्यो । छलफलका क्रममा नेताहरुले पावर शेयरिङबारे छलफल गर्न प्रचण्ड, देउवा र माधव नेपाललाई आग्रह गरे ।

तीन नेता झण्डै ४० मिनेट छुट्टै बसे । छलफलपछि तीनै नेता प्रसन्न मुद्रामा आए, बैठक सकियो ।

स्रोतका अनुसार तीन नेता (प्रचण्ड, माधव नेपाल र देउवा) बीच प्रधानमन्त्रीमा आलोपालो गर्ने समझदारी भएको छ ।