२०८१ बैशाख १४ , शुक्रवार

थोरै बोल्दा कति फाइदा हुन्छ ?

सुनाखरी न्युज/ काठमाडौं । बोल्नमा हामीलाई कुनै बन्देज त छैन । त्यसैले बोल्नका लागि मुख बार्ने चलन छैन, हामीसँग । त्यसैले आफ्नै बोलीले बेलाबखत हामीलाई फन्दामा पार्छ । त्यसैले त जान्नेबुझ्नेहरु सतर्क गराउँछन्, ‘बन्दुकको गोली र मुखको बोली निस्केपछि फर्कंदैन ।’ अर्थात् बेलाबखत हामी यस्तो घातक कुरा बोल्छौं, जसलाई पुनः सुधार्ने मौका हामीसँग हुँदैन ।

 

कम बोल्नुको अर्थ यो होइन कि आवश्यक परेको अवस्थामा पनि मौन रहनु । खासमा त आवश्यक अवस्थामा मात्र सही ढंगले, सही कुरा बोल्नु हो । आवश्यक मात्रामा बोल्दा शारीरिक र मानसिक लाभ मिल्छ । यसले एकातिर शरीरमा सिञ्चित ऊर्जा शक्ति नष्ट हुँदैन भने अर्कोतिर अनावश्यक फन्दामा पर्दैन । मौनता वा शान्त रहँदा शरीरका भित्री अंगहरुलाई समेत प्रत्यक्ष लाभ पुग्छ । योगलगायत प्रक्रियामा यही मौनताको अभ्यास गराइन्छ, जसले मुटु, रक्तसञ्चार, श्वासप्रश्वास प्रक्रिया आदिलाई सही राख्न ठोस सघाउ पुग्छ ।

 

विपश्यनाजस्ता ध्यान विधिमा मौन रहनुको फाइदा के छ भनी प्रत्यक्ष अनुभव गर्न सकिन्छ । हाम्रा पूर्खाहरुले मौन रहनुको फाइदा बुझेरै ‘मौन व्रत’ लगायतका अभ्यासहरु गर्दै आए । मौन रहँदा मात्र होइन, अनावश्यक बोल्ने बानी कम गर्दा पनि धेरै किसिमको लाभ मिल्छ ।