२०८१ बैशाख ४ , मंगलबार

आजदेखि हिमालयन र सिभिल बैंकको एकिकृत कारोबार

सुनाखरी न्युज/ काठमाडौं । हिमालयन बैंक र सिभिल बैंक लिमिटेडले आज शुक्रबारदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् । दुबै बैंकले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभामार्फत प्राप्ति सम्बन्धि प्रस्तावलाई पारित गरेका थिए । दुई बैंक एक भई हिमालयन बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन् ।

 

हिमालयन बैंकले सिभिल बैंकलाई १०० बराबर ८० दशमलव २८ को अनुपातमा शेयर आदानप्रदान गर्दै प्राप्ति गरेको हो । यस आधारमा सिभिल बैंकको १०० कित्ता शेयर हुने शेयरधनीहरूले प्राप्ति पश्चात् हिमालयन बैंकको ८० दशमलव २८ कित्ता शेयर प्राप्त गर्नेछन् । प्राप्ति पश्चात बैंकको रष्टिर्ड कार्यालय हाल हिमालयन बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय रहेको स्थान कमलादी काठमाडौंमा रहनेछ । साथै एकिकृत कारोबार पश्चात् सिभिल बैंकका ग्राहकहरूको खाता नम्बर परिवर्तन हुने भएकाले नजिकको सिभिल बैंकको शाखामा सम्पर्क राख्न समेत बैंकले अनुरोध गरेको छ ।

 

प्राप्ति प्रक्रिया पुरा गर्नु अघिनै दुबै बैंकले आफ्ना सदस्यहरूलाई गत वर्षको मुनाफाबाट वितरण गर्ने गरी लाभांश पारित गरिसकेका छन् । पुस २८ गते सम्पन्न वार्षिक साधारण सभामार्फतनै दुबै बैंकले लाभांश प्रस्ताव पारित गरेको हो । यस वर्ष सिभिल बैंकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ९ अर्ब ७ करोड ५८ लाख ४३ हजारको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको । त्यस्तै हिमालयन बैंकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ११ दशमलव ११ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।