२०८१ बैशाख १३ , बिहिवार

नेप्सेमा उच्च गिरावट

Share Down

सुनाखरी न्युज/ काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको गिरावट भएको छ । आजको कारोबार शुरुदेखि नै ओरालो लागेको नेप्से ५७ अंक भन्दा बढीले घटेर बन्द भएको हो ।

 

आज नेप्से ५७.७४ अंकले घटेर दुई हजार २२ दशमलव ६४ विन्दुमा बन्द भएको छ । आज नेप्सेमा भारी अंकको गिरावट भए पनि कारोबार रकम दुई अर्ब नाघेको छ । आज दुई अर्ब ५२ करोड २७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने २०३ कम्पनीको शेयरमूल्य घटेको छ । एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये पनि अधिकांश लघुवित्त कम्पनीको शेयरमूल्य राताम्मे भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार कर्जा विस्तारदेखि लाभांश वितरणसमेतमा कडाइ गरेपछि लघुवित्तको शेयरमूल्यमा पहिरो गएको हो । उक्त कडाइका कारण आज ३७ वटा लघुवित्तको शेयरमूल्य १० प्रतिशतले घटेको छ भने ८ वटा लघुवित्तको शेयरमूल्य ९ प्रतिशतले घटेको छ ।

 

उच्च अंकले घटेको बजारमा नेपाल हाइड्रो डेभलपर्स, सामलिङ पावर कम्पनीको शेयरमूल्य सबैभन्दा बढी बढेको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले बढेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी छिमेकी लघुवित्त वित्तीय संस्थाको भएको छ । यसको आज ८ करोड ७० लाखभन्दा बढीको कारोबार भएको छ ।