२०८१ बैशाख १३ , बिहिवार

लाभांश र मर्जर प्रस्ताव पारित गर्दै लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ६.९९ प्रतिशतले हुन आउने ९ करोड १७ लाख रुपैयाँ बराबरको बोनस र कर प्रयोजनको लागि ०.३६७९ प्रतिशतले हुन आउने ४८ लाख २९ हजार रुपैयाँ बराबरको नगद लाभांश पारित गरेको छ ।

 

सभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले कम्पनीको व्यवसाय लगायतका अन्य कामकारवाहीहरु, यस कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनी गाभ्ने गाभिने सम्बन्धमा भएका सहमति, सम्झौताहरु, कम्पनी गाभिएपछिको अबस्था आदिका बारेमा शेयरधनीहरुलाई बिस्तृत रुपमा जानकारी गराउनु भयो । सभामा बिभिन्न शेयरधनीहरुले आफ्नो मन्तव्य राख्दै सगरमाथा इन्स्योरेन्स कम्पनी संग हुन लागेको मर्जरप्रति खुसी प्रकट गर्दै सफलताको कामना गर्नुभयो । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाव, आ.ब. २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ति प्रस्ताव पारित गरेको छ ।

 

त्यसैगरी, यस कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनी गाभिने, गाभिएपछिको कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी कायम रहने, सगरमाथा इन्स्योरेन्स कम्पनी र यस कम्पनीको शेयर आदान–प्रदान अनुपात १००:८० हुने गरी स्वाप रेसियो कायम गर्ने, बिस्तृत लेखापरीक्षण बापतको पारिश्रमिक अनुमोदन गर्ने, दुबै कम्पनी मर्ज भएपछिको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा प्रतिनिधित्व गर्ने सञ्चालक तोक्ने र मर्जर लगायत कम्पनीको तर्फबाट गर्नुपर्ने बांकी सम्पूर्ण कामहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।