२०८१ बैशाख १४ , शुक्रवार

छलफल जारी छ, १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्छ : प्रधानमन्त्री

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

 

सिंहदरबारमा आज सम्पन्न भेटमा आसन्न राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा उम्मेदवार चयनमा दलबीच भइरहेको छलफलका विषयमा कुराकानी भएको जनाइएको छ ।छलफलपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री दाहालले दलबीचको छलफल जारी रहेको र यही फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्ने जानकारी दिए । उनले भने, “अहिले छलफल भइरहेको छ । फाइनल भएको छैन ।”

 

अध्यक्ष नेपालले राष्ट्रपतिबारे विभिन्न विकल्पमा छलफल भईरहेको र भोलीसम्ममा टुंगोमा पुगिने बताए । उनले आफूहरु देशको हित हुने विकल्पमा जाने पनि बताए । अध्यक्ष नेपालले भने, ‘कुराकानी चलिराखेको छ । राष्ट्रपतिबारे आजभोलीमा टुंगो लाग्छ । कसरी देशको राजनीतिलाई अगाडि बढाएर लैजाने भन्ने विषयमा छलफल भएका छन । हामीसँग अनेक अपशनहरु छन । ती अपशनहरुमध्ये वेष्ट अपशन के हुन्छ ? जुन अपशनले देशको राजनीतिलाई ठिक दिशामा लैजान सक्छ, देशको संविधानलाई जोगाउन, राष्ट्रिय हितलाई बचाउन भूमिका खेल्छ । त्यही अपशनमा जानुपर्छ । त्यसो हुनाले यहाँ कसले पाउने, कुन व्यक्तिले पाउने, कुन पार्टीले पाउने भन्नु भन्दा पनि कसरी देशको समस्यालाई हामीले सम्बोधन गर्ने भन्ने हो ।’

 

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपाललाई एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिमा प्रस्ताव गरेपछि राजनीतिक भेटवार्तालाई सो पार्टीले पनि तीव्रता दिएको छ । यता, प्रधानमन्त्री दाहाल भने काँग्रेसबाट राष्ट्रपति बनाउन इच्छुक छन् । राष्ट्रिय सहमतिका लागि पनि काँग्रेसलाई समेटनुपर्ने भन्दै उनले काँग्रेस नेताहरुलाई राष्ट्रपति दिने वचन दिने गरेका छन् । भेटवार्तामा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको पनि सहभागिता थियो ।