२०८१ बैशाख ४ , मंगलबार

सेल्फीको इतिहास

सुनाखरी न्युज/ काठमाडौं ।आजको समयमा सेल्फीको क्रेज जो कोहीमा पनि देख्न सकिन्छ । अत्याधुनिक मोबाइल फोनमा रहेका शक्तिशाली क्यामराहरुले मानिसहरुको सेल्फी कल्चरलाई बढावा दिइरहेका छन् । पछिल्ला वर्षहरुमा सर्वाधिक लोकप्रिय बनेको सेल्फीको इतिहासका बारेमा तपाईंलाई कत्तिको थाहा छ ?

 

आधुनिक मोबाइल फोनमा सेल्फी क्यामरा आएसँगै सेल्फीको इतिहास सुरु भएको होला भन्ने तपाईंको अनुमान हुनसक्छ । यस्तो अनुमान गर्नु भएको छ भने तपाईं गलत हुनुहुन्छ । तपाईंलाई पत्यार नलाग्न सक्दछ कि विश्वमा पहिलो सेल्फी आजभन्दा डेढ सय वर्ष अगाडि खिचिएको थियो । विश्वमा सन् १८५० मा पहिलो सेल्फी खिचिएको इतिहास छ । यद्यपि त्यो सेल्फी अहिलेको जस्तो प्रष्ट र चम्किलो छैन, फगत एउटा सेल्फ पोट्रेट जस्तो छ । स्विडिस आर्ट फोटोग्राफर अस्कर गुस्तेभ रेजलेन्डरले विश्वको पहिलो सेल्फी खिचेका थिए । दुनियाको उक्त पहिलो सेल्फीको रुपमा रहेको सेल्फ पोट्रेटलाई उत्तरी योर्कशायरका मर्फेट्स अफ हेरोगेटले ७० हजार पाउण्डमा लिलाम गरेका थिए ।

 

अर्को एक दाबी अनुसार त्यसभन्दा अगाडि नै सन् १८३९ मा विश्वको पहिलो सेल्फी खिचिएको थियो । अमेरिकी फोटोग्राफर रोबर्ट कोरनेलियसले उक्त सेल्फी खिचेका थिए । उनले आफ्नो क्यामराबाट आफ्नै सेल्फी खिच्ने कोसिस गरेका थिए । वास्तवमा मोबाइल फोनबाट आफैले खिचिएको आफ्नो फोटोलाई साधारण रुपमा सेल्फी भनिन्छ । तर यो शव्दको प्रचलन पछिल्ला केही वर्षयता निकै बढिरहेको छ । पहिलोपटक सेल्फी शव्दको प्रयोग अस्ट्रेलियाली वेबसाइट फोरम एबीसी अनलाइनले सन् २००२ को डिसेम्बर १६ मा गरेको थियो । टाइम म्यागेजिनले सन् २०१२ का १० वटा मूल शव्दमा सेल्फी शव्दलाई समेत स्थान दिएको थियो । त्यस्तै अक्सफोर्ट शव्दकोशले सन् २०१३ मा सेल्फी शव्दलाई ‘विश्व वर्ष शव्द’ अर्थात् वर्ड अफ दी इयर घोषणा गरेको थियो ।

 

सेल्फी कल्चरको धमाकेदार सुरुवात सन् २०११ देखि भएको मानिन्छ । सन् २०११ मा एक बाँदरले इण्डोनेसियामा एकजना बेलायती वन्यजन्तु फोटोग्राफर डेभिड स्लाटरको क्यामराको बटन थिचेर खिचेको आफ्नो सेल्फी निकै चर्चित बनेको थियो । उक्त बाँदरको सेल्फीको बौद्धिक सम्पत्ति अधिकार बाँदरको हुने कि फोटोग्राफर स्लाटरको हुने भन्ने बारेमा मुद्दा मामिला समेत चलेको थियो । दुई वर्षको कानूनी लफडापछि फोटोग्राफर स्लाटरले उक्त सेल्फीबाट भएको आम्दानीको २५ प्रतिशत वन्यजन्तु क्षेत्रमा दान गर्ने निर्णय गरी वन्यजन्तु अधिकारवादी संस्था पेटासँग सम्झौता गरेका थिए । एजेन्सी