२०८० चैत्र १६ , शुक्रवार

चक्रपथ विस्तारमा हाम्रो कारण कुनै समस्या छैन : घिसिङ

सुनाखरी न्युज/ काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको कारण कुनैपनि ठाउँमा चक्रपथ बिस्तारमा समस्या नरहेको स्पष्ट पारेका छन् ।

 

बिहीवार दोस्रो चरणको चक्रपथ विस्तार अन्तर्गत कलंकी–महाराजगन्ज सडक खण्डकको अवलोकनका लागि उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदुत छन सङसँगै अनुगमन एवं निरीक्षणका लागि त्यहाँ पुगेका घिसिङले उक्त कुरा बताएका हुन् ।‘अब यो रिङरोड बिस्तारको कलंकी–चाबहिलसम्मको विस्तारमा हामीले पोल सार्ने काम सकिसकेका छौँ,’ उनले भने, ‘एक, दुई स्थानमा रोडको लेभल मिलाउनुपर्ने भएकाले १५ वटा जति पोल सार्न बाँकी रहेछ, १५ दिनजति लाग्छ । विद्युत प्राधिकरणको पोलको कारणले कुनैपनि ठाउँमा चक्रपथ बिस्तारको लागि समस्या छैन ।’

 

त्यस्तै काठमाडौं चक्रपथ सुधार योजनाकी योजना प्रमुख सजना अधिकारीले चक्रपथ विस्तारको कलंकीदेखि बसुन्धरासम्म ८.२ किलोमिटर दोस्रो चरणमा शुरु हुन लागेको बताइन् । उनले जसअन्तर्गत रहेका करिव तीन सय बिजुलीका पोलहरु हटाइसकेको र अब २२ वटा पोलहरु मात्रै रहेकाले सडक बिस्तारका लागि कुनै समस्या नभएको जानकारी दिइन् ।‘यस अन्तर्गत हाम्रा दुई, तीन सय वटा बिजुलीका पोलहरु थिए, अब २२ वटा जति पोलहरु हटाउन बाँकी छ । त्यो पनि प्रोसेसमा छ, १५ दिन भित्र भत्काउने भन्नुभएको छ,’ उनले भनिन्, ‘१९ वटा मन्दिरहरु थिए, ती पनि सबै भत्काइएका छन् । रुख, चौतारोहरु पनि हटाइसकेका छौँ । कलंकीदेखि स्युचाटारसम्मको २२ वटा बिजुलीका पोलहरु सार्नुपर्नेछ । दोश्रो चरण भनेको कलंकीदेखि बसुन्धारासम्मको हो । महाराजगञ्ज तेस्रो चरणको हो ।’