२०७९ चैत्र १६ , बिहिवार

पहिलो नेपाली रक गायक माइक खड्काको निधन

Capture

सुनाखरी न्युज/ काठमाडौं । नेपालका पहिलो रक गायक माइक खड्काको निधन भएको छ। वास्तविक नाम मुकुन्दकुमार खड्का भएका माइकलको ६९ वर्षको उमेरमा बिहीबार ललितपुर पुल्चोकस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

 

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदैछ। निर्देशक तथा रेडियोकर्मी प्रकाश सायमीले खड्काको निधनबाट नेपाली संगीत क्षेत्रलाई क्षति पुगेको बताएका छन्। खड्कालाई नेपालको एल्भिस प्रिस्ले भनिने गरिएको जानकारी समेत उनले दिए। नेपाली, हिन्दी र अंग्रेजी संगीतका ज्ञाता समेत रहेका खड्काले विधिवत् रुपमा शास्त्रीय गायक रंगराव कादम्बरीबाट संगीत सिकेका थिए।

 

उनले गायक ओमविक्रम विष्ट, अरुण थापा र दिव्य खालिङसँग उनले सहकार्य गरेका थिए। केही अंग्रेजी गीतको रेकर्ड गराएपनि उनले एल्बम भने सार्वजनिक गर्न पाएनन्। पछिल्लो समय उनी संगीतसम्बन्धी पुस्तक लेखनको तयारीमा थिए। उनी क्लासिक एफएमका निर्देशक समेत थिए। सोही एफएममा उनले कार्यक्रम पनि चलाउँदै आएका थिए। स्वर्गीय खड्काका पत्नी र एक छोरा छन्।