२०८१ बैशाख ८ , शनिवार

मटिहानी आइपुग्यो मिथिला परिक्रमाको लस्कर

सुनाखरी न्युज/ काठमाडौं । मिथिला क्षेत्रको महापर्व मानिएको माध्यमिक परिक्रमाको लस्कर बिहीबार महोत्तरीको धार्मिक क्षेत्र मटिहानी आइपुगेको छ ।

बुधवार भारतको फुलहरबाट धर्मयात्रीहरु मटिहानी प्रवेश गरेको हो । सयौँ सङ्ख्यामा सहभागी धर्मयात्रीहरुको लस्कर आउने क्रम जारी छ । यात्राका क्रममा स्थानीयलाई समस्या नपरोस् भनेर परिक्रमा यात्रीले भोजनलगायत रात्रि विश्रामका लागि आवश्यक बन्दोबस्तीका सामान पनि साथै लिएर हिँड्ने परम्परा छ । तीर्थयात्रीहरुले मटिहानीस्थित लक्ष्मीनारायण मठको परिक्रमासँगै बगैँचामा चहलपहल बढेको छ । नेपाली एवं भारतीय धर्मावलम्बीका सहभागीलाई मान महन्थका मुख्य शिष्य डा. रवीन्द्रदास वैष्णव , विभिन्न मठका मठाधीश एवं मटिहानी तथा भारतीय छिमेकी गाउँ माधवपुरका स्थानीयले स्वागत गरेका छन् ।

 

फागुन शुक्ल प्रतिपदाको शुभ साइतबाट धनुषास्थित कचुरीको मिथिला विहारी तथा अग्निकुण्डका किशोरीजीको डोलासाथ प्रारम्भ हुने यो धर्म यात्रा १५ दिनभित्र जनकपुर पुगी फागुपूर्णिमाको दिन समापन हुन्छ । धर्मयात्रीले नेपालका १ सय ७ र भारतको २६ गरी १३३ किलो मिटर भूमिको पैदल यात्रा गर्ने परम्परा रहेको छ । मटिहानी पुगेको यो लस्कर शुक्रवार जलेश्वरमा बास बसी शनिवार महोत्तरीकै मडै पुग्ने धार्मिक तालिका छ ।