२०८१ बैशाख ८ , शनिवार

राष्ट्रपति निर्वाचन : नामावली उपर आज दाबी विरोध गर्न सकिने

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत बिहीबार मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

 

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि बिहीबार उजुरी दिन सकिनेछ । बुधबार अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार १३ गते शनिबार उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

 

मतदानको लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा दुई वटा मतदान केन्द्र रहनेछन् । एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेश सभाका सदस्यले मतदान गर्नेछन् । दिउँसो ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगले जनाएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा ८८१ जना मतदाता रहेका छन् । निर्वाचन अधिकृतको कार्यालयले बुधबार ८८१ जनाको नामावली प्रकाशन गरेको हो ।

 

सूचीमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जना सदस्यको नाम रहेको छ । प्रतिनिधि सभामा हाल दुई सदस्य निलम्बित र एक सदस्य रिक्त रहेको छ । प्रहरीको फरार सूचीमा रहेका महोत्तरीका एमाले सांसद लक्ष्मी महतो कोइरीको नाम मतदाता सूचीमा समावेश गरिएको छ । तर, राष्ट्रपतिबाट सजाय मिनाह पाएपछि निलम्बन फुकुवा भईसकेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको नाम भने मतदाता सूचीमा राखिएको छैन ।

 

यसैगरी निलम्बनमा रहेका मनाङका सांसद टेक बहादुर गुरुङको नाम मतदाता सूचीमा छैन भने रवि लामिछानेको सांसद पद गुमेसँगै चितवन २ रिक्त छ ।