२०८१ बैशाख ८ , शनिवार

च्याउले पनि गर्छन् मानिसले झैँ कुराकानी

 

सुनाखरी न्युज/ काठमाडौं । बोट–बिरुवामा जीवन हुन्छ, यो कुरा त सबैलाई थाहा छ । तर के तपाईँलाई थाहा छ, यसले कुराकानी पनि गर्छन् । च्याउले एक–आपसमा मानिसले झैँ कुराकानी गर्छन् । यो काम उनीहरू आफ्नो जराको मद्दतले गर्छन् जसलाई माइसेलियम भनिन्छ । अनुसन्धानमा के पनि पत्ता लागेको छ भने च्याउसँग आफ्नो मस्तिष्क पनि हुन्छ र यसमा महसुस गर्ने चेतना पनि छ । युनिभर्सिटी अफ वेस्ट इङ्गल्यान्डको यो शोधपछि वैज्ञानिकको रुचि फङ्गस प्रजातिको यो वनस्पतिमा बढ्न थालेको छ । च्याउ बारे विभिन्न खालका शोध लगातार भइरहेका छन् । यसैबीच च्याउ आफ्नो दिमागलाई तेज बनाउन हामी जस्तै सक्रिय हुन्छन् भन्ने ताजा खुलासा भएको छ ।

 

क्विन्सल्याण्ड युनिभर्सिटीको अध्ययन हालै जर्नल अफ न्युरोकेमेस्ट्रीमा छापिएको छ । तरकारीको रूपमा खाइने च्याउ, जसलाई हेलिसियम एरियासिअस भनिन्छ, मा यस्तो प्रोटिन हुन्छ जसले स्नायु वृद्धिका काम गर्छ । यो प्रोटिनलाई न्युरोट्राफिन्स भनिन्छ । यहाँसम्म कि यो प्रोटिन खाँदा हाम्रो दिमाग वृद्धिमा पनि सघाउ पुर्‍याउँछ ।

के हो यो प्रोटिन र यसले कसरी काम गर्छ ?
प्रोटिन परिवारअन्तर्गत पर्ने न्युरोट्रोफिन्सको काम हो न्युरोन्सको स्वास्थ्य पक्का गर्नु । यसले उसको विकास र मर्मत सम्भारमा काम गर्छ । यो जरामा पनि पाइन्छ र एक अर्कासँग जोडिएको हुन्छ । यहाँ नै यो लगातार विकास हुन्छ । यो प्रक्रिया ठ्याक्कै मानिसको झैँ हुन्छ । हामी भित्र पनि न्युरोट्रोफिन्सले दिमागको विकासमा महत्त्वपूर्ण भूमिका निभाएको हुन्छ । यसको एक विशेष किसिम, जसलाई ब्रेन डेराइभ्ड न्युरोट्रोफिक फ्याक्टर (बिडिएनएफ) पनि भनिन्छ, बोल्न, बुझ्न र निर्णय लिनका लागि निकै आवश्यक हुन्छ ।

 

जो व्यक्तिमा यसको कमी हुन्छ, उनीहरूको मस्तिष्कले राम्रोसँग काम गर्न सक्दैन । वा यसमा समस्या भए थुप्रै समस्या हुन थाल्छ । अल्जाइमर्स र रेट सिन्ड्रोमद्वारा ग्रसित बिरामीमा यही प्रोटिनको कमी देखिएको छ । खान लायक च्याउका थुप्रै प्रजातिमा भएका प्रोटिन लगातार न्युरोन्सको विकासमा सक्रिय हुने देखिएको छ । विशेष गरी एसियाली देशमा खाइने लायन्स मेने मशरुम यस्ता मानिसलाई दिइन्छ जसलाई मस्तिष्कसँग सम्बन्धित कुनै समस्या हुन्छ । अर्थात्, सर्वसाधारणलाई कुनै अनुसन्धान वा शोध बिना नै च्याउ खाँदा दिमागको विकासमा मद्दत गर्छ भन्ने कुनै न कुनै जानकारी थियो ।

 

अर्को एउटा रोचक कुरा भनेको च्याउले कस्तो खालको भाषा प्रयोग गरेर बोल्छन् त ? वैज्ञानिकका अनुसार यिनीहरू लगभग ५० शब्द बोल्न सक्छन् । यिनीहरूको हरेक शब्दको लम्बाई लगभग साढे पाँच अक्षरका हुन्छन् । यद्यपि, दैनिकको कुराकानीमा यिनीहरूले लगभग २० शब्द मात्रै प्रयोग गर्छन् । इलेकट्रिकल इम्पल्स अर्थात् बिजुलीको तरंगमार्फत् यी शब्द एक ठाउँमा अर्को ठाउँमा पुग्छन् । यसैको मद्दतले उनीहरू मौसमी खतराको कुरा पनि अर्कोसम्म पुर्‍याउँछन् । वैज्ञानिकहरूले के भनिरहेका छन् भने, ‘हुन त यसबारे त्यस्तो ठुलो दाबी गर्न सकिँदैन तर च्याउमा यस्ता धेरै कुरा छन् जुन मानिसहरूले थाहा पाउन आवश्यक छ ।’एजेन्सी