२०८१ बैशाख १३ , बिहिवार

मिस वर्ल्डको ग्राण्ड फिनाले यूएईमा

सुनाखरी न्युज/ काठमाडौं । यस वर्षको विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्डको ग्राण्ड फिनाले पहिलोपटक मध्यपूर्वी एसियाली मुलुक यूएईको आर्थिक सहर दुबईमा हुने भएको छ । नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङ सहमालिक बनेपछि पहिलोपटक मिस वर्ल्ड एसियामा हुन लागेको हो ।

 

मिस वर्ल्ड लिमिटेडकी अध्यक्ष जुलिया मोर्लीले इन्स्टाग्रामबाट यस्तो घोषणा गर्दै प्रतियोगिताको ७१ औं संस्करण यूएईमा गर्ने निश्चित भएको जानकारी दिन पाउँदा खुसी लागेको बताएकी छन् । सहमालिक गुरुङले पनि यसअघि यस वर्षको मिस वर्ल्ड एसियामा हुने संकेत गरेका थिए । उनले कम्तीमा १० वर्षमा मिस वर्ल्ड नेपालमा समेत गर्न सकिने योजनाबारे छलफल भइरहेको जनाएका थिए ।

 

आगामी मे महिनामा दुबईमा फिनाले हुने भनिएपनि निश्चित मिति भने सार्वजनिक भइसकेको छैन । प्रतियोगिताको पछिल्लो संस्करण गत मार्चमा अमेरिकाको पुएर्तो रिकोमा सम्पन्न भएको थियो, जहाँ पोल्याण्डकी सुन्दरी कारोलिना बिलावस्काले ताज जितेकी थिइन् ।