२०८१ बैशाख ११ , मंगलबार

सन्दीप लामिछानेलाई दुबई लैजान क्यानको पहल

सुनाखरी न्युज/ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी साता यूएईमा हुने विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय श्रृंखलाका लागि लेग स्पिनर सन्दीप लामिछानेलाई सहभागी गराउन पहल थालेको छ । घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका लामिछानेलाई यूएई लैजान क्यान सक्रिय भएको हो ।

 

नेपाल विश्वकप छनोटमा पुग्न र एक दिवसीय मान्यता जोगाउन यूएईमा हुने चार खेल निकै महत्वपूर्ण हुनेछ । तर, बलात्कार आरोपमा अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेका लामिछानेलाई नेपाल बाहिर जान बन्देज छ । त्यसकारण क्यानले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्राचार गरेर उनलाई विदेश लैजान सकिने सम्भावनाको खोजी गरेको हो । पत्रमा कानुनी बाधा हटाएर लामिछानेलाई यूएईमा लैजान अदालतसँग अनुमति माग्न आग्रह गरिएको छ ।

 

बलात्कार अभियोगपछि क्यानको निलम्बनमा परेका र उच्च अदालत पाटनले धरौटीमा छाड्ने आदेश दिएपछि खेलमा फर्किएका लामिछानेले घरेलु मैदानमा भएको नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । चार खेलमा १३ विकेट लिएका उनी सिरिजमा सर्वाधिक विकेट लिने खेलाडीसमेत बने ।