२०८१ बैशाख ४ , मंगलबार

डीआईजी अशोक सिंहले दिए राजीनामा

सुनाखरी न्युज/ काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् । उमेर झुक्याएर सेवामा बहाल रहेको खुलेपछि उनले बुधबार प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा पुगेर राजीनामा दिएको स्रोतले जनाएको छ । हाल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक–फरक भेटिएको छ ।

 

२०५१ चैत ५ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका सिंह नागरिकता विवाद नआएको अवस्थामा २०८१ साल चैत ५ सम्म प्रहरी सेवामा रहन्थे । उनका ब्याजीमध्ये बाट आगामी चैत ११ पछि नेतृत्वमा जान लागेको अवस्थामा त्यसअघि नै नागरिकता विवादमा मुछिएपछि राजीनामा दिन बाध्य भएका हुन् । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका दाबेदार रहेका सिंह त्यसपछि भावी महानिरीक्षक बन्ने दौडमा थिए । २०४९ चैतमा सेवा प्रवेश गरेका हालका महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहसहित उनका ब्याची सबै उच्च अधिकारी ३० वर्षे सेवा अवधि पूरा गरी चैत ११ बाट अनिवार्य अवकाशमा जाने छन् ।

 

त्यसपछि नेतृत्वमा पुग्नका लागि पहिलो नम्बरमा एआईजी बढुवा हुन चाहेका डीआईजी सिंहमाथि उमेर सच्याएर प्रहरी सेवामा प्रवेश गरेको आरोप लागेको हो । उमेर झुक्याएको भन्दै डीआईजी सिंहविरुद्ध गएको गत बुधबार बागबजारका विश्वप्रकाश भेटवालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए । अख्तियारमा परेको उजुरीको बोधार्थ मुख्यसचिव, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई पनि दिइएको थियो । त्यसपछि सिंहको सिटरोल र नागरिकतामा रहेको जन्ममिति खोजबिन गर्दा उमेर फरक–फरक भेटिएको छ । सिंह २०५१ चैत ५ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए ।