२०८१ जेठ ५ , शनिवार

नेपालको आयात र निर्यात दुवै घट्यो

सुनाखरी न्युज/ काठमाडौं । चालु आर्थिक वर्ष ७९/८० को ७ महिनाको अवधिमा नेपालले ९ खर्ब १९ अर्बको सामान आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि माघसम्मको अवधिमा नेपालले ९ खर्ब १९ अर्ब १६ करोड बराबरको सामान आयात गरेको हो।

 

अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा आयात १९.९० प्रतिशतले कम हो। अधिल्लो आर्थिक वर्षको पहिलो ७ महिनामा नेपालले ११ खर्ब ४७ अर्ब बराबरको सामान आयात गरेको थियो । त्यस्तै चालु आर्थिक वर्षको ७ महिनामा नेपालले ९३ अर्ब ४३ करोड बराबरको सामान निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा निर्यात २९.०३ प्रतिशतले कम हो । अधिल्लो आर्थिक वर्षको पहिलो ७ महिनामा नेपालले १ खर्ब ३१ अर्ब बराबरको सामान निर्यात गरेको थियो ।

 

चालु आर्थिक वर्षको ७ महिनामा नेपालको ब्यापार घाटा ८ खर्ब २५ अर्ब रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा नेपालको ब्यापार घाटा १८.७१ प्रतिशतले कम हो । अधिल्लो आर्थिक वर्षको पहिलो ७ महिनामा नेपालको ब्यापार घाटा १० खर्ब १५ अर्ब थियो। ७ महिनाको अवधिमा नेपालले डिजेल मात्र ८४ अर्ब ६१ करोड बराबरको आयात गरेको छ । त्यस्तै ३८ अर्ब ७३ करोडको पेट्रोल, ३३ अर्ब ३४ करोडको खाना पकाउने ग्यास आयात गरेको छ । यस अवधिमा नेपालले ८ अर्ब २७ करोडको सोयाबिन तेल निर्यात गरेको छ।