२०८१ बैशाख १५ , शनिवार

नेपाल पे क्यूआरमा जोडिए २ लाख बढी मर्चेन्ट

सुनाखरी न्युज/ काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले सञ्चालनमा ल्याएको नेपालपे क्यूआरमा दुई लाखभन्दा बढी मर्चेन्ट आबद्ध भएका छन् ।

 

विभिन्न बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकमार्फत यो संख्यामा मर्चेन्ट आबद्ध भएको एनसीएचएलले जनाएको छ । छोटो अन्तरालमा दुई लाखभन्दा बढी मर्चेन्टहरु क्यूआरमा आबद्ध गरिनुले नेपालमा क्यूआरसम्बन्धी भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रवर्द्धनमा थप मद्दत पुग्ने कम्पनीले विश्वास लिएको छ ।

 

एनसीएचएलले कार्यान्वयनमा ल्याएको नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्यूआर सञ्चालनमा ल्याइएको हो । क्यूआर स्किमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपालपे क्यूआर मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ ।

 

हाल २३ बैंक वित्तीय संस्था तथा दुई भुक्तानी सेवा प्रदायकमार्फत व्यावसायिक ग्राहकले नेपालपे क्यूआरमा आबद्ध हुन सक्छन् भने १६ बैंक वित्तीय संस्था तथा चार भुक्तानी सेवा प्रदायकका वालेटहरुमार्फत स्क्यान एन्ड पेको सुविधा उपलब्ध रहेको छ ।