२०८१ बैशाख १४ , शुक्रवार

एनआईसी एशिया लघुवित्तद्वारा प्रभावकारी फिल्ड व्यस्थापन तालिम सञ्चालन

सुनाखरी न्युज/ काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको लुम्बिनी प्रदेश (क) कार्यालयले त्यस प्रदेशअन्तर्गतका शाखामा कार्यरत सम्पूर्ण फिल्ड कर्मचारीहरुका लागि प्रभावकारी फिल्ड व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ।

 

उक्त कार्यालयले चरणबद्ध रुपमा त्यस क्षेत्रका भुताहा, बोडगाउँ, डुमरा, हाकुई, बेथरी तथा हार्थोकलगायत स्थानहरुमा तालिम सञ्चालन गरेको हो। संस्थाको शाखा कार्यालयहरुमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई लघुवित्त र यसको महत्व, संस्थाले समुदायस्तरमा प्रदान गर्दै आइरहेका वित्तीय तथा गैरवित्तीय कार्यक्रमहरु, संस्थाको नीतिबमोजिम कसरी कार्यक्रम सञ्चालन तथा सेवा प्रवाह गर्ने, सरल, सुलभ र ग्राहक सदस्यमुखी सेवा प्रवाहमा जोड तथा ग्राहक सदस्यहरुलाई उनीहरुको वित्तीय कारोवार गर्न सक्ने क्षमता तथा व्यवसायको विश्लेष गरी सोहि अनुरुपको कर्जा प्रवाह गरि कसरी उनीहरुलाई आयआर्जनमुखी तथा व्यवसायमुखी बनाउने, वित्तीय सेवाका अलावा सदस्यहरुलाई प्रदान गरिने क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रमहरुका साथै हाल लघुवित्तमा देखिएका समस्या तथा त्यसको समाधान कसरी गर्ने आदि विषयहरुका बारेमा उक्त क्षमता अभिबृद्धिसम्बन्धी तालिम सञ्चालन गरिएको संस्थाका लुम्बिनी प्रदेश (क) प्रमुख अमरनाथ सेढाईंले बताए।

 

तालिममा संस्थाका लुम्बिनी प्रादेशिक कार्यालय (क) का प्रमुख अमरनाथ सेढाईं, उपप्रादेशिक कार्यालयका प्रमुखहरु लव सुदन सिंह तथा दिपक अधिकारीलगायतले सहजीकरण गरेका थिए। तालिममा प्रदेश कार्यालय अन्तर्गतका १०३ जना फिल्ड कर्मचारीहरुको उपस्थिति रहेको थियो। यस्ता कार्यक्रम सञ्चालनबाट संस्थाद्वारा सञ्चालित वित्तीय तथा गैरवित्तीय कार्यक्रम तथा सेवाहरु सरल, सहज तथा उपलब्धीमूलक रुपमा प्रवाहमा हुनेमा संस्था विश्वस्त रहेको समेत प्रदेश प्रमुख सेढाईंले बताए।