२०८१ बैशाख १२ , बुधवार

दालचिनी सेवन गर्दा फाइदै फाइदा

सुनाखरी न्युज/ काठमाडौं । तेजपत्ताको बोक्रालाई दालचिनी भनिन्छ। जसलाई बासनादार मसलाको रूपमा प्रयोग गरिन्छ। दालचिनीमा हुने पोलिफिनोल नामक तत्वले शरीरमा विशेष प्रकारका प्रोटिनहरूको काम बढाई इन्सुलिन निष्कासन गर्न सहयोग गर्छ।

 

त्यस्तै, रगतमा भएको ग्लुकोजको मात्रालाई नियन्त्रण गर्छ। जसले गर्दा रगतमा चिनीको मात्रा कम हुने हुँदा यसले मधुमेहका रोगीलाई फाइदा पुर्‍याउँछ। जिरा, ल्वाङ र सुठोको मिश्रणमा दालचिनी हाली उमालेर खाएमा रुघाखोकी र ज्वरो ठीक हुन्छ। कोलेस्ट्रोल नियन्त्रण गर्न मद्दत गर्छ। मुखको घाउ–खटिरा, अजीर्ण, बच्चाको झाडापखाला, बाथ र महिनावारीसम्बन्धी समस्या समाधानका लागि दालचिनी प्रभावकारी हुने आयुर्वेदमा उल्लेख छ।

 

घाँटी बसेमा बिहान–बेलुकी दालचिनीको धुलो उमालेर खाने गर्दा केही दिनमै आराम मिल्छ। त्यस्तै, चिसोले कपाल दुखेमा दालचिनी र मरिचको लेप बनाई बिहान–बेलुका निधार र कन्चटमा लगाएमा सन्चो हुन्छ।