२०८० चैत्र १६ , शुक्रवार

राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिँदै

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले बुधबार मतदाता नामावली प्रकाशन गर्ने भएको छ । फागुन २५ मा हुने राष्ट्रपति र चैत २ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली टुंग्याएको हो ।

 

नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयले बुधबार नामावली प्रकाशन गर्ने छ । आयोगका अनुसार बुधबार बिहान १० बजेदेखि १२ बजेसम्म मतदाता नामावली प्रकाशन गरिने छ । बुधबार नै १२ बजेदेखि ३ बजेसम्म मतदाता नामावलीउपर निवेदन तथा उजुरी दिन सकिनेछ । त्यसमा बिहीबारसम्म दाबी विरोधको उजुरी दिन सकिनेछ  । दाबी विरोधबाट मतदाताको नाम, थर, उमेर, पद सच्याउन र नाम छुटेमा समावेश गर्न सकिनेछ  ।

 

उजुरीमाथिको छानबिन गरी शुक्रबार अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगको कार्यक्रम छ  । शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ  । निर्वाचन भने फाल्गुण २५ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ  । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसद र प्रदेश सभाका सदस्य मतदाता हुनेछन् ।२०७८ सालको जनगणनाको अन्तिम प्रतिवेदन सार्वजनिक नभएकाले २०६८ सालको जनगणनाकै मतभारका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनेछ ।

 

राष्ट्रपति निर्वाचनको लागि संघीय संसदका ३३४ र प्रदेश सभाका ५५० गरी कुल ८८४ मतदाता मत खसाल्न योग्य हुन्छन् । तर, संघीस ससंद अन्तर्गत २७५ सदस्सीय प्रतिनिधि सभामा अहिले २७३ सदस्य मात्रै कायम छन् । राष्ट्रिय सभाका सबै ५९ सदस्य नै कायम भएकाले संघीय संसदका कुल मतदाताको संख्या ३३२ रहेको निर्वाचन आयोगले जनाएको छ ।