२०८१ बैशाख १४ , शुक्रवार

शुक्लाफाँटा पर्यटन महोत्सव सुरु

सुनाखरी न्युज/ काठमाडौं । कञ्चनपुरमा मंगलबारदेखि शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ । ‘आर्थिक समृद्धिको आधार, पर्यटन विकास र पूर्वाधार’ भन्ने मूल नाराका साथ छैटौँ शुक्लाफाँटा पर्यटन महोत्सव सुरु गरिएको हो ।

 

महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई पर्यटकीय गन्तव्य बनाउनुपर्ने बताए । जिल्लाका सबै पालिकाले आ–आफ्नोतर्फबाट आन्तरिक पर्यटन प्रवर्द्धनका कार्यक्रममा जोड दिनुपर्ने उनको भनाइ छ । महोत्सव १० दिनसम्म सञ्चालन हुनेछ ।

 

महोत्सवको दोस्रो दिन कञ्चनपुरका पत्रकारलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण, तेस्रो दिन निकुञ्ज परिसरमा सरसफाइ, चौथो दिन पर्यटन प्रवर्द्धनसम्बन्धी छलफल र पाँचौँ दिन मैत्रीपूर्ण फुटबल हुनेछ । त्यसैगरी छैटौँ दिन चरा अवलोकन, सातौँ दिन संरक्षण र पर्यटनबारे माध्यमिकस्तरीय वक्तृत्वकला, आठौँ दिन हिरापुरमा अवलोकन, नवौँ दिन आन्तरिक पर्यटन प्रवर्द्धनसम्बन्धी छलफल र १०औँ दिन विविध कार्यक्रम गरी समापन हुनेछ ।