२०८१ बैशाख १२ , बुधवार

राष्ट्रपति निर्वाचनमा मतदाता कति ?

सुुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रियसभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्न पाउनेछन् । तर यस पटकको राष्ट्रपति निर्वाचनमा तीन जना मतदाता कम हुनुसक्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । ‘तीन जना मतदाता कम हुन सक्छन् । त्यसबारे आयोगले बुधबार निर्णय गरेर सार्वजनिक गर्छ’, प्रवक्ता पौडेलले भने ।

 

प्रतिनिधिसभाका २७५ मध्ये चितवन २ बाट निर्वाचित रवि लामिछाने पदमुक्त भएका र मनाङबाट निर्वाचित टेबहादुर गुरुङ निलम्बनमा परेका कारण मतदान गर्न पाउने छैनन् । अर्का एक जना मतदाताको विषयमा आयोगले निर्णय गर्न बाँकी छ । जसको नाम आयोगले खुलाएको छैन ।

तथापि, महोत्तरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी चौधरी कोइरीले मतदान गर्न पाउने वा नपाउने भन्ने विषयमा आयोग निर्णयमा पुगेको छैन ।

प्रतिनिधिसभा नियमावली २०७९ राष्ट्रपतिको निर्वाचन अगाडि नै पारित भएको खण्डमा उनले मतदानमा भाग लिन पाउने छैनन् । नयाँ नियमावलीमा कैद भुक्तान गर्नुपर्ने भनी अदालतबाट फैसला भएको र फरार रहेका सांसद निलम्बनमा पर्ने व्यवस्था छ ।

राष्ट्रपति निर्वाचन तालिका अनुसार निर्वाचन आयोगले बुधबार मतदाता नामावली प्रकाशन गर्नेछ । त्यसपछि दाबी, विरोध र उजुरीका काम हुनेछन् । उजुरीउपर छानबिन फागुन ११ र १२ गते हुनेछ । अन्तिम मतदाता नामावली फागुन १२ गते नै प्रकाशन गर्न आयोगले कार्यतालिका छ ।

राष्ट्रपतिका लागि मनोनयन दर्ता फागुन १३ गते हुनेछ । २५ गते निर्वाचन हुनेछ ।