२०८१ बैशाख ८ , शनिवार

हिउँदे याम नसकिँदै गर्मी सुरु

सुनाखरी न्युज/ काठमाडौं । यस वर्षको हिउँदे याम नसकिँदै गर्मी सुरु भएको छ। पछिल्ला दिनमा तापक्रम निरन्तर वृद्धि हुँदै गएकाले गर्मी महसुस गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् रोजन लामिछानेले हिउँदे वर्षा पर्याप्त नहुँदा सुक्खापन बढेकाले यो वर्ष चाँडै गर्मी सुरु भएको छ।

 

अघिल्लो वर्ष हिउँदमा पश्चिमी वायु बढी सक्रिय रहेकाले हिउँदे वर्षा राम्रोसँग भएको थियो। यस पटक वर्षा गराउने मौसमी प्रणाली प्रभावकारी नभएकाले वर्षा हुन नसकेको मौसमविद्को भनाइ छ। हिउँदे वर्षा गराउने मौसमी प्रणाली विकसित भए पनि त्यसको सक्रिय प्रभाव नभएकाले देशका सुदूरपश्चिम र कर्णाली प्रदेशमा बढी वर्षा भएको छ। बाँकी क्षेत्रमा अपेक्षित वर्षा नभएकाले बाली लगाएका किसानसमेत मर्कामा परेका छन्। सुक्खापनले पर्यावरणमा समेत असर परेको छ । सामान्यतया नेपालमा हिउँदे वर्षा मङ्सिर दोस्रो सातामा सुरु भएर फागुन दोस्रो सातासम्म रहन्छ। तर यस वर्ष हिउँदे वर्षा पर्याप्त मात्रामा हुन सकेन।

 

महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौँको न्यूनतम तापक्रम १० र अधिकतम तापक्रम २४ डिग्री सेल्सियस छ। धार्मिक विश्वासअनुसार शिवरात्रि पर्वका बेला मौसम धुम्मिन्छ र केही मात्रामा चिसोसमेत हुन्छ। तर यो वर्ष शिवरात्रिका बेला पनि पानी पर्न सकेन। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ। उक्त मौसमी प्रणालीको प्रभावले अहिले प्रदेश नं १ लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भूभागहरुमा आंशिक बदली छ ।