२०८१ बैशाख १२ , बुधवार

‘नांगो गाउँ’मा सहकार्य गर्दै साम्राज्ञी र कार्म

सुनाखरी न्युज/ काठमाडौं । निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको फिल्म ‘नांगो गाउँ’को शीर्ष भूमिकामा साम्राज्ञी शाह र कार्मले अभिनय गर्ने भएका छन् । सोमबार निर्माता र कलाकारबीच लिखित सहमति भएको हो । पात्र मन परेर फिल्मसँग जोडिएको उनीहरुले बताए । यी दुईले पहिलोपटक स्क्रिन सेयर गर्न लागेका हुन् ।

 

फिल्ममा यसअघि नै दयाहाङ राई र मिरुना मगर फाइनल भइसकेका छन् । योसँगै फिल्मको शीर्ष कलाकारको समीकरण पूरा भएको छ । आलोक शुक्लाको छायांकन रहने फिल्ममा शिशिर बाङ्देल, रविन्द्र झा, बुद्धि तामाङ, पुष्कर गुरुङलगायतका कलाकार पनि फाइनल छन् । मनिष्मा फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायांकन फागुनको अन्तिम साताबाट सुरु हुनेछ । फिल्मलाई काभ्रेमा खिचिनेछ । यो फिल्ममा हिमाल शर्माको लगानी छ ।

 

फिल्मबारे निर्देशक लामाले भने, ‘मलाई साम्राज्ञी र कार्मसँग पहिलेदेखि नै काम गर्ने रहर थियो । यसपटक भूमिका पनि दुवैलाई सुहाउने भएपछि सहकार्य गर्ने अवसर जुटेको छ ।’ निर्देशकीय हिसाबले लामाको यो पाँचौं फिल्म हो । यसअघि उनले घामपानी, गोपी, छ माया छपक्कै र दुई नम्बरी निर्देशक गरिसकेका छन् । ‘दुई नम्बरी’ यो वर्षको सुपरहिट फिल्ममध्ये पर्छ ।