२०८१ बैशाख १३ , बिहिवार

स्कटल्यान्डविरूद्ध नेपालको सानदार बलिङ, २ सय १३ रनको लक्ष्य

सुनाखरी न्युज/ काठमाडौं । नेपालले विश्वकप लिग २ मा स्कटल्यान्डविरुद्धको खेल जित्न २ सय १३ रनको लक्ष्य पाएको छ । नेपालले टस जितेपछि ब्याटिङको निम्ता पाएको स्कटल्यान्ड ४६.१ ओभरमा २ सय १२ रनमा अलआउट भयो ।

 

जर्ज मुन्सी र काएल कोएटजरले स्कटल्यान्डलाई सानदार सुरुआत दिलाएका थिए । पूर्वकप्तान कोएटजरलाई सन्दीप लामिछानेले २२ रनमा आउट गरी नेपाललाई पहिलो सफलता दिलाए । सन्दीप आफ्नो पहिलो ओभरमा आएदेखि नै स्विप सट खेलेर आक्रामक देखिएका मुन्सीले ५० बल खेल्दै ९ चौका र २ छक्का प्रहार गरि ६० रन बनाए । उनको लेग स्टम्प सन्दीपले उडाइदिएका थिए । नामिबियाको पहिलो खेलमा अविजित शतक बनाएका मुन्सीले त्यसपछिका दुई खेल खेलेका थिएनन् । नेपालविरुद्धको खेलमा नखेलेका मुन्सीसहित कोएटर र साफियन सरिफलाई आजको खेलमा खेलाएको थियो । कप्तान रिची बेरिङटनलाई एलबीडब्लु आउट गरी सन्दीप ह्याट्रिक विकेटको नजिक पुगेका थिए ।

 

म्याथ्यु क्रसले ४२ रन बनाए । दीपेन्द्रसिंह ऐरीद्वारा सिधा थ्रोमा रनआउट हुनुपूर्व उनले ६३ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । टोमस म्याकिन्टोसलाई १ रनमा आउट गरी सन्दीपले चौथो विकेट लिए । सन्दीपले १० ओभरमा ४५ रन खर्चे । माइकल लिस्कलाई बोल्ड गर्दै करणले एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरे । नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पुरा गर्ने उनी सन्दीप र सोमपालपछिका तेस्रो खेलाडी हुन् । करणले ब्रेन्डन म्याकमुलेनलाई ३१ रनमा आउट गरी आफ्नो दोस्रो विकेट लिए । म्याकमुलेनले ४८ बल खेली ३ चौका प्रहार गरे । करणले ३ विकेट लिए । उनले ८.१ ओभरमा ४२ रन खर्चे ।

 

तीव्र बलर गुलशन झाको स्थानमा मौका पाएका देव्रेहाते स्पिनर ललित राजवंशीले क्रिस ग्रेभ्सलाई ७ रनमा एलबीडब्लु आउट गरी नेपाललाई नवौं सफलता दिलाए । ललितले आफ्नो १० ओभरको कोटामा १ मेडन राख्दै ३३ रन खर्चे । अर्को एक विकेट कुशल मल्लको नाममा रहयो । स्कटल्यान्ड ३५ खेलमा ५० अंकसहित यसअघि नै विजेता बनिसकेको छ र आजको खेल लिग २ मा टोलीको अन्तिम खेल हो । स्कटल्यान्डलाई आज खेल समाप्तपश्चात विजेता ट्रफी पनि दिने कार्यक्रम रहेको छ । नेपाल २७ खेलमा २४ अंकसहित सात राष्ट्र सहभागी लिग २ को अंक तालिकामा छैटौं स्थानमा छ ।