२०८० चैत्र १५ , बिहिवार

सातौं युवा वैज्ञानिक शिखर सम्मेलन

सुनाखरी न्युज/ काठमाडौं । नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब एसएस÷कलेजको संयुक्त आयोजनामा भइरहेको दुइ दिने सातौं युवा वैज्ञानिक शिखर सम्मेलन २०२३ हिजोबाट युनिग्लोब कलेज, कमलादी काठमाडौँमा सुरु भएको छ ।

नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय आविष्कार केन्द्र, नेपाल युवा परिषद्, युनेस्को नेपाल, अनुसन्धान तथा विकास सोसाईटी नेपाल र नेपाल विज्ञान शिक्षक समाजसँगको सहकार्यमा आयोजना गरिएको यस सम्मेलनमा प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशबाट कक्षा ८ देखि १२ सम्मका युवा वैज्ञानिकहरुले सम्मेलनको पहिलोदिनमा उत्साहपूर्वक उपस्थिति जनाएका थिए । सम्मेलनमा ३१ विद्यालयका ५६ वटा अनुसन्धान प्रोजेक्टहरु बिच प्रतिस्पर्धात्मक प्रतियोगिता हुदैँछ ।

 

सम्मेलनमा युवा वैज्ञानिकहरुले इन्जिनियरिङ तथा रोबोटिक्स, जीव विज्ञान, रसायन तथा पर्यावरण विज्ञान, भौतिक विज्ञान र गणित र कम्प्युटर विज्ञानमध्यको (आर्टिफिसियल इन्टेलीजेन्स समेत) कुनै एक विधामा आफ्नो प्रस्तुती दिएका थिए । हरेक विधामा युवा अनुसन्धाताले आफ्नो अनुसन्धानलाई संक्षिप्त लिखित सारांश, छोटो भिडियो, पोस्टर तथा मौखिक प्रवचनको रूपमा प्रस्तुत गरेका थिए । युवा वैज्ञानिकको अनुसन्धान कार्यको नवीनता पुरस्कार तथा पदक लागि छनोटको मुख्य मापदण्ड हुनेछ । यसबाहेक संक्षिप्त लिखित सारांश, छोटो भिडियो, पोस्टर तथा मौखिक प्रवचनको रूपमा अनुसन्धाताले गरेको प्रस्तुतीका आधारमा पनि मूल्यांकन गरिनेछ ।

यस सम्मेलनका बिजेताहरुलाई पाँच विभिन्न विधामा प्रमाणपत्र र पदकसहित सम्मान गरिनेछ । शीर्ष विजेताहरू सन् २०२३ सेप्टेम्बर २७ देखि अक्टोबर १ सम्म मेक्सिकोकोसोनोरामा आयोजना हुने १२औं एसिया प्यासिफिक युवा वैज्ञानिक सम्मेलनमा सहभागी हुनेछन् । युनिग्लोब एसएस÷कलेजका अध्यक्ष डा.खगेन्द्र प्रसाद ओझाले अध्यक्षतामा हुने समापन समारोहमा विजेताहरुको घोषणा गरिनेछ । कार्यक्रमको समापन समारोहको शोभा बढाउनका निम्ति नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, डा. भगवान कोइराला र डा.नन्द बहादुर सिंहको समेत उपस्थिति रहनेछ ।