२०८० चैत्र १६ , शुक्रवार

गोंगबु घटनामा प्रहरी चुकेको निष्कर्ष

सुनाखरी न्युज/ काठमाडौं । गोंगबुमा गत साता यातायात मजदुरहरूले गरेको आन्दोलनका क्रममा समयमै सूचना लिएर नियन्त्रण गर्न नसकेको आरोपमा दुई डीएसपीलाई विभागीय कारबाहीको सिफारिस गरिएको छ ।

 

गत फागुन १ गते बालाजु, माछापोखरी नयाँ बसपार्क लगायत क्षेत्रमा भएको प्रदर्शन नियन्त्रण गर्न नसक्नुमा महानगरीय प्रहरी वृत्त बालाजु र सोह्रखुट्टे प्रहरी वृत्तका डीएसपीको कमाण्ड कमजोर भएको निष्कर्ष निकालिएको हो । डीआइजी मसाउद आलम खाँको नेतृत्वमा भएको छानबिन समितिको निष्कर्षमा कमान्ड सम्हालेका दुई प्रहरी वृत्तका प्रमुखको कमजोरी भएको देखिएको उल्लेख गरेको छ । बालाजु वृत्तका डीएसपी रविन विष्टको जिम्मेवारी खोसिएको छ भने सोह्रखुट्टेका डीएसपी गणेशबहादुर बमलाई पनि कारबाहीको लागि सिफारिस गरिएको छ ।

 

गठित छानबिन समितिले सोमबार काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिवेश लोहनीलाई प्रतिवेदन बुझाएको छ । प्रदर्शनकारीले आन्दोलनको क्रममा प्रदर्शनकारीले डीएसपी चढ्ने भ्यानमा आगो लगाउनुका साथै ल्होत्से मलमा लुटपाट समेत मच्चाएका थिए ।