२०८१ बैशाख १३ , बिहिवार

एमाले नेता विश्वकर्मालाई पितृशोक

शिशिर पौडेल/ पोखरा । नेकपा एमालेका पोलिटब्युरो सदस्य जगत विश्वकर्मालाई पितृशोक परेको छ। विश्वकर्माका ८७ वर्षिय पिता पोखरा महानगरपालिका वडा नं १९ घार्मी निवासी डिल बहादुर सुनार को गयराति आफ्नै निवास घार्मीमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

 

लामो समयदेखि सुगर र प्रेसर रोगबाट पीडित सुनारको हिन्दू परम्परा अनुसार सोमबार दिउँसो स्थानीय देउराली घाटमा अन्त्यष्टि गरिएको छ। स्वर्गीय सुनारको शवमा उनका कान्छा छोरा जगत विश्वकर्माले दागबत्ती दिएका थिए। विसं १९९३ जेठ २ गते घार्मीमा जन्मेका सुनारले आफ्नो जिवनकालमा महेन्द्र मा विको स्थापना, लामाचौर स्वास्थ्य चौकी, घार्मी वृहत खानेपानी, सडक निर्माण लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका थिए। त्यस्तै दलित अधिकार र ग्रामीण क्षेत्रको विकासमा अगुवाइ समेत गरेका थिए।

 

स्वर्गीय सुनारको शवमा नेकपा एमालेका नेता एवं गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, एमाले सचिव पद्मा अर्याल, नेता दामोदर वैरागी, मायानाथ अधिकारी, वाम विश्लेषक झलक सुवेदी, नेता दिपक पौडेल, शोभा मोहन पौडेल, पुष्पज्योती ढुङ्गाना, भिम कार्की, राजिव पहारी, माधव बास्तोला, वडा कमिटका अध्यक्ष विष्णु प्रसाद गौतम, नेता सुरेन्द्र मान सिंह भण्डारी, अर्जुन अधिकारी, होम नेपाली लगायतका नेता, कार्यकर्ता, कलाकार, पर्यटन व्यवसायी, पत्रकारले पुष्प गुच्छा चढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए। स्वर्गीय सुनारका श्रीमतीको २६ वर्ष अगाडि र जेठा छोरा जीत बहादुरको ४ वर्ष अगाडि निधन भएको थियो। उनका १ छोरा जगत र ४ छोरीहरू छन्।