२०८१ बैशाख ७ , शुक्रवार

रैथाने चराहरु गुँड बनाउन र बच्चा कोरल्न व्यस्त

सुनाखरी न्युज/ काठमाडौं । वरिष्ठ चराविद् डाक्टर हेमसागर बरालका अनुसार हिउँद सकिनै लाग्दा रैथाने चराहरु गुँड बनाउन र बच्चा कोरल्न व्यस्त हुन्छन् । अहिले चरा पनि खुशी हुने समय भएको उहाँले बताउनुभयो ।

 

उहाँले भन्नुभयो –‘चराहरुले यो समयमा गीत गाउने, चिरबिरचिरबिर गर्ने र एक अर्कालाई ठूलो स्वरले बोलाउने गर्दछन् । जुन हामीले अहिले ग्रामीण क्षेत्रमा मात्रै नभएर सहरी क्षेत्रमा पनि सुनिरहेका छौँ ।’ यस्तै हिउँद सकिन लागेसँगै पाहुना चरा पनि नेपाल आउन थालेका छन् । अब बिस्तारै ग्रीष्मकालीन आगन्तुक चराहरु नेपाल आउने क्रम बढ्नेछ । गर्मी छल्नका लागि दक्षिण क्षेत्रबाट चराहरु नेपाल भित्रने गर्छन् । कटुस टाउके मुरली प्रजातिका चरा नेपाल आउन थालिसकेका छन् । गर्मीयाममा आउने आगन्तुक चरामा कोइली, मुरलीचरा, फिस्टा, चिबे आदि छन् । थाइल्यान्ड, श्रीलङ्कासहित दक्षिण–पूर्वी एसियाली देश र अस्ट्रेलियाबाट चरा आउने गरेका छन् । यी चराहरुले नेपालमा बच्चा कोरल्ने गर्दछन् । नेपालमा अहिले रैथाने प्रजातिका ६ सय ५० चरा छन् । अहिलेसम्मको तथ्याङ्कले ६० भन्दा बढी प्रजातिका ग्रीष्मकालीन आगन्तुक चरा नेपाल आउने गरेका देखाएको छ।

 

रैथाने र आगन्तुक गरी सात सयभन्दा धेरै प्रजातिका चराले नेपालमा बच्चा कोरल्छन् । धेरैजसो चराले घारी र रुखमा गुँड बनाउँछन् । सहरी क्षेत्रमा भने रुख र घारीको अभावमा घर वा खम्बाहरुमा समेत चराले गुँड बनाउने गरेका छन्। गुँड बनाउने ठाउँ अभावमा चरा सङ्कटमा पर्न थालेको भन्दै चराविद्हरुले बासस्थानको संरक्षणमा जोड दिँदै आएका छन् । यस्तै, जाडो छल्न नेपाल आएका चराहरु हिउँद सकिन लागेसँगै फर्किन थालेका छन् । चराविद् डाक्टर हेमसागर बरालका अनुसार हिउँदमा १ सय ५० भन्दा धेरै प्रजातिका चरा नेपाल आउँछन् । जसको ठूलो सङ्ख्या कोशीटप्पुमा बस्छ । चराविद् डाक्टर बरालका अनुसार नेपालमा अहिले ८ सय ९१ प्रजाति चरा पाइन्छन् ।