२०८० चैत्र १५ , बिहिवार

भारतीय राजदूतले स्वास्थ्यमन्त्रीलाई दिए डायलासिस उपकरण

सुनाखरी न्युज/ काठमाडौं । भारतीय दूतावासले नेपाल सरकारलाई मिर्गौला डायलासिस उपकरण हस्तान्तरण गरेको छ । आज यहाँ आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पद्म गिरीलाई सो उपकरण हस्तान्तरण गरेका हुन् ।

राजदूत श्रीवास्तबले नेपाल सरकारले एक वर्षअघि माग गरेको मेसिन अहिले उपलब्ध गराएको बताए । उनले उपलब्ध डायलासिस मेसिनले नेपालीलाई सहज उपचार सेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।‘यी मेसिनले नेपालको स्वास्थ्य संरचनाको पूर्वाधारमा सहयोग पुग्ने विश्वास दूतावासको छ,’ उनले भने, ‘नेपाल र भारत सरकारको सहकार्यमा विकासका काम भइरहेका छन्, सोही क्रममा नेपाल भारतमैत्री ट्रमा अस्पताल, बिपी कोइराला अस्पताल र विभिन्न परियोजनाले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोगको काम भइरहेको छ ।’ उनका अनुसार सन् २००३ देखि साना परियोजनामार्फत भारत सरकारले नेपालमा सामुदायिक अस्पताल, स्वास्थ्य उपकरण र औषधि उपलब्ध गराउँदै आएको छ ।

अहिले भारत सरकारले सिरहादेखि सिन्धुलीसम्म विभिन्न १० प्रकारका परियोजनामार्फत काम गरिरहेको पनि उनले बताए । ‘भारत सरकारले नेपाल सरकारलाई विभिन्न समयमा नौ सय ५० एम्बुलेन्स उपलब्ध गराएको छ । छिटै थप एम्बुलेन्स उपलब्ध गराई एम्बुलेन्सको सङ्ख्या एक हजार पुर्याउनेछौँ,’ उनले भने । मन्त्री गिरीले भारत सरकारबाट उपलब्ध भएको सहयोगप्रति आभार प्रकट गरे । उनले भने, “धेरै मिर्गौला बिरामीले समयमा डायलासिस सेवा पाउन सकेका छैनन् । भारत सरकारले उपलब्ध गराएको उपकरणलाई आवश्यक ठाँउमा पु¥याउँछौँ र यसले बिरामीलाई सहज उपचारमा सहयोग पुग्नेछ ।”

उनले भारत सरकारले भूकम्पको समयमा र कोभिड–१९ महामारीको समयमा गरेको सहयोगको प्रशंसासमेत गरे । “भारतको ‘छिमेकी प्राथमिकता नीति’ नेपालका लागि खुसीको कुरा हो, भारतीय सरकारको सहयोग निकै उल्लेखनीय छ”, उनले भने । दूतावासले दुई सय थानमध्ये कार्यक्रममा २० वटा उपकरण उपलब्ध गराएको हो । बाँकी उपकरण छिट्टै नेपाल भित्रिने दूतावासले जानकारी दिएको छ । उपलब्ध उपकरणलाई आवश्यकताअनुसार विभिन्न अस्पतालमा वितरण गरिने मन्त्रालयकी सचिव देविकुमारी गुरागाईंले जानकारी दिनुभयो ।