२०८१ बैशाख १३ , बिहिवार

कृषि विकास बैंकका नवनियुक्त सीईओ गुरुङले सम्हाले कार्यभार

सुनाखरी न्युज/ काठमाडौं । गत शनिबार चार वर्षका लागि कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका गोबिन्द गुरुङले आजबाट पदभार ग्रहण गरेका छन् ।

 

नव नियुक्त सीईओ गुरुङलाई सञ्चालक समितिका कार्यवाहक अध्यक्ष तथा सीईओ छनौट उपसमितिका संयोजक सुमन दाहालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । तत्कालीन सीईओ अनिल उपाध्यायको कार्यकाल पुस १० गतेबाट सकिएपछि उक्त पद रिक्त रहेको थियो । सीईओका लागि २२ जना आवेदकमध्ये पाँच छनौट भएका गुरुङले बाजी मारेका हुन् ।

 

बैंकिङ क्षेत्रमा करिब साढे दुई दशकको अनुभव संगालेका गुरुङले हिमालयन बैंकबाट आफ्नो करियर सुरु गरेका हुन् । नेपाल कमर्स क्याम्पसबाट एमबीए उत्तीर्ण गरेका उनी सिभिल बैंकका पूर्व सीईओ हुन् । ग्लोबल आईएमई, मेगाको कार्यअनुभव हासिल गरेका उनले सिटिजन बैंक म्यानमारमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।