२०८० चैत्र १६ , शुक्रवार

नेलम्बो नेपालद्धारा पाउँदुर आधारभूत विद्यालयलाई युरोगार्ड हस्तान्तरण

सुनाखरी न्युज/ पोखरा । पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले अन्नपूर्ण गाउँपालिका वडा नं. ३ मा रहेको श्री पाउँदुर आधारभूत विद्यालयलाई विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर राखि एक थान यूरोगार्ड हस्तान्तरण गरेको हो ।

 

विगत लामो समय देखि त्यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले धाराबाटै सिधै बोतलमा पानी थापी पिउने गरेका विद्यार्थीहरुले अब भने धाराको पानीलाई प्रशोधन पश्चात मात्र पिउने भएका छन् । वर्षायाममा मूलबाट आउने पानी धमिलो पिउनु परेको र त्यसले विद्यार्थीहरुमा विभिन्न खाले रोगहरुले ग्रसीत हुने गरेकोमा अब भने कुनै चिन्ता नहुनेमा विद्यालयकी प्रधानाध्यापक बसन्ती देवकोटा विश्वत रहिन । नेलम्बो नेपालले ७३ औं प्रजातन्त्रको शुखत उपलक्ष्यमा उक्त विद्यालयमा यूरोगार्ड हस्तान्तरण गरेको हो । उक्त युरोगार्ड हस्तान्तरण नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटाले अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद के.सी. उपाध्यक्ष चन्द्रकला देवकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश गुरुङ्ग र विद्यालय प्रधानाध्यपक बसन्ती देवकोटालाई हस्तान्तरण गर्नु भएको हो ।

उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर के.सी ले नेलम्बो नेपालले विगतमा यस पालिकालाई गरेको सहयोग उच्च प्रशंसनीय रहेको र भविष्यमा शिक्षा र स्वास्थ्य क्षेत्रमा गाउँपालिका भित्र धेरै नै कार्यहरु गर्नु पर्ने भएको हुदाँ नेलम्बो नेपालसगँ सहकार्य गरेर काम गर्ने प्रतिबद्धता गर्नु भयो । त्यसै गरी गाउँपालिका उपाध्यक्ष चन्द्रकला देवकोटाले नेलम्बो नेपालले एक पटकको सहयोगको आग्रहमा यति छिट्टै उपलब्ध गराएकोमा नेलम्बो नेपाललाई धन्यवाद व्यक्त गर्नु भयो । त्यसै गरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख बलराम भुगाइँले नेलम्बो नेपाल विगतका वर्षहरुमा उल्लेखनीय कार्य गरेको स्मरण गर्दै आगामी दिनमा पनि शिक्षा र स्वास्थ्यका कार्यक्रमहरु सञ्चालन गर्न पालिका सधै तयार रहेको जनाउनु भयो । उहाँले विगतको वर्षमा गरेको कार्यहरु पालिकाले कहिल्यै पनि विर्षन नसकिने बताउनु भयो ।

 

त्यसै गरी सहयोगी संस्थाका अध्यक्ष एक देव देवकोटाले नेलम्बो नेपाल स्थापना कालको केही समयको अन्तरालसँगै यस पालिकामा कार्यहरु गर्दै आईरहेको पनि बताउनु भयो । उहाँले वृहत निस्शुल्क स्वास्थ्य शिविर, कोभिड १९ को विषम् परिस्थितिमा सम्पूर्ण गाउँपालिकाको घर दैलोमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पुगेको, विद्यालयहरुलाई पढाई सञ्चालनको लागि आवश्यक पर्ने माक्स सेनिटाइजर, थर्मल गन, स्वास्थ्य संग संस्थाहरुलाई कोभिड १९ को लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु विद्यालयहरुमा निःशुल्क दन्त शिविर, शुद्ध खाने पानीका लागि आवश्यक पर्ने युरोगार्ड लगाएतका कार्यक्रमहरु सञ्चालन गरेको पनि बताउनु भयो । भविष्यमा आवश्यकता र संस्थाको दक्षताका आधारमा अन्य थप सहयोगका कार्यक्रमहरु पनि सञ्चालन गर्ने बताउनु भयो । त्यसै गरी उक्त कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष फडिन्द्र पौडेल, ढिकुरपोखरी पोखरा सम्र्पक समाजका सहसचिव गणेश प्रसाद अधिकारी लगायतले संस्थाले गरेको सहयोगका बारेमा बोल्नु भएको थियो ।

 

हस्तान्तरण गरिएको युरोगार्डको बारेमा थप जानकारी नेलम्बो नेपालका कार्यक्रम संयोजक भीम प्रसाद भण्डारीले बताउनु भएको थियो । साथै उक्त युरोगार्डले प्रति घण्टा ५० लिटर भन्दा बढी पानी शुद्धीकरण गर्न सक्ने उहाँले बताउनु भयो ।