२०८० चैत्र १६ , शुक्रवार

पशुपतिबाट आज विदाई हुँदैछन् साधुसन्त, दक्षिणाका लागि १० लाख छुट्याइयो

सुनाखरी न्युज/ काठमाडौं । महाशिवरात्रिका लागि पशुपति आएका साधुसन्तको बिदाइ आज हुँदैछ । बिहान ११ बजेपछि पशुपति प्राङ्गणबाट बिदाइ गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

 

कोषका अनुसार ४ हजारभन्दा धेरै साधु सन्तको बिदाइ गरिँदै छ । शिवरात्रिका लागि पशुपति आएका साधुसन्तलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित पाँच सय रुपैयाँदेखि ८ हजार रुपैयाँसम्म दक्षिणा दिइन्छ । भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले परम्परा अनुसार बिदाइ गर्ने चलन छ । साधुसन्तको दक्षिणाका लागि ८ देखि १० लाख रुपैयाँ छुट्टाइएको पनि कोषले जनाएको छ ।

 

पोहोर र परारको तुलनामा यसपालि पशुपतिमा आउने साधुसन्तको संख्या बढेको कोषले जनाएको छ । यस्तै, महाशिवरात्रिका अवसरमा पशुपतिमा संकलन भएको भेटीको गणना सुरु भएको छ । आइतवारदेखि भेटी गन्न थालिएको र गणना सक्न अझै ५–६ दिन लाग्ने कोषले जनाएको छ ।