२०८१ बैशाख १५ , शनिवार

रेडक्रस कानुन निर्माणमा सहयोग गर्छु : प्रतिनिधिसभा सदस्य थापा

सन्जिब दुलाल/ भक्तपुर । प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले नेपाल रेडक्रसको आफ्नो कानुन निर्माणमा सहयोग गर्ने बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको २८ औं जिल्ला सभालाई सम्बोधन गर्दै थापाले नेपाल रेडक्रसको कानुन निर्माणमा सहयोग गर्ने बताउनुभएको हो ।

 

सभालाई सम्बोधन गर्दै उहाँले रेडक्रस भनेपछि ब्लड र फल्डको लागि सहयोगी भनी चिनिएको छ । अव यसलाई आफ्नो कानुन निर्माण गराउँदै एक स्वायत्त संस्था बनाउँदै समाज सेवामा अग्रणी बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । पछिल्लो समय रेडक्रस केवल राजनीति गर्ने थलो मात्र भएको बताउँदै उहाँले यो राजनीति गर्ने थलो हैन यो मानव सेवा गर्ने थलो हो । रेडक्रसलाई मानव सेवाको थलो मात्र बनाउन सबै एक जुट हुनुपर्नेमा जोड दिनुभयो । हाल सबै सङ्घ संस्था राजनीतिको जालोले बिग्रेको छ यो जालोलाई चिर्दै सङ्घ संस्थाहरू राजनीति मुक्त बनाउनु पर्ने उहाँको भनाई थियो । कार्यक्रममा बागमती प्रदेशका जनतालाई रगत निःशुल्क उपलब्ध गराउन पहल गर्ने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभयो । उहाँले भक्तपुरको चाँगुनारायणले थालनी गरेको निःशुल्क रगत हाल भक्तपुर जिल्ला भर भएको स्मरण गर्दै अव बागमतीका १३ जिल्लामा नै यो सेवा विस्तारको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले रेडक्रस र स्थानीय निकाय सँग सँगै रहनुपर्ने भन्दै नगर वासीको सेवाका लागि निःशुल्क रगत उवलव्धतामा आफूहरूले पहल कदमी चालेको बताउनुभयो । यस्तै कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति मनोज कुमार थापाले रगतबाट भक्तपुरको चिनारी भएको बताउनुभयो । जिल्लाबाट सञ्चालन भएको रक्त सञ्चार केन्द्रबाट दिइएको सेवाका कारण देश भर रगत नपाए भक्तपुर जानु भन्ने नाराबाट परिचित भएको बताउनुभयो । हिजो न्याय नपाए गोर्खा जानु शिक्षा नपाए काँसी जानु भने जस्तै देश भर रगत नपाए भक्तपुर जानु भन्ने उक्ति सार्थक भएको छ । यो उक्ति सार्थक बनाउन सहयोग गर्ने सङ्घ संस्था राजनीतिक दल एवं समस्त सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशका महासचिव रामजी पौडेल , काठमाडौँ शाखाका सभापति श्याम काजी डोटेल , सिन्धुपाल्चोक जिल्ला शाखाका सभापति राजेन्द्रमान ताल्चाभँडेल , भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधव शर्मा, पूर्व सभापति केपी अवाल, जिल्ला उपसभापति कृष्णेश्वरी हाडा लगायतका वक्ताले भक्तपुर रेडक्रसको कार्यका विषयमा प्रशंसा गर्नुभएको थियो ।