२०८१ बैशाख ७ , शुक्रवार

सात महिनामा करिव १ खर्ब मात्र कर्जा लगानी

Bank

सुनाखरी न्युज/ काठमाडौं । चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरुको कर्जा लगानी निकै न्यून देखिएको छ। बैंकर्स संघको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षका बैंकहरुले ६ वर्षयताकै न्यून कर्जा लगानी गरेका छन्।

 

नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको माघसम्ममा बैंकहरुले १ खर्ब १५ अर्ब रुपैयाँ कर्जा लगानी बढाएका छन्। गत आर्थिक वर्षको अन्त्य अर्थात असार मशान्तसम्ममा बैंकहरुले ४१ खर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए। माघ अन्तिमसम्ममा ४२ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको यसै अवधिमा ४ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए। यस वर्ष राष्ट्र बैंकले कडाइ गरेको कारण कर्जा लगानी ह्वातै घटेको छ। बैंकहरुले आर्थिक वर्ष २०७२/७३ मा १ खर्ब ११ अर्ब कर्जा बढाएका थिए भने २०७३/७४ मा २ खर्ब ३९ अर्ब रुपैयाँ,आर्थिक वर्ष २०७४/७५ मा २ खर्ब १२ अर्ब,आर्थिक वर्ष २०७५/७६ मा २ खर्ब ७८ अर्ब, आर्थिक वर्ष २०७६/७७ मा २ खर्ब ५२ अबरु र आर्थिक वर्ष २०७७/७८ मा ४ खर्ब १४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए।

 

 

सस्तो ब्याजदरमा नै धेरै कर्जा लगानी भएपछि त्यसले माग बढाएको थियो भने आयात ह्वातै बढेको थियो। यही देखेर राष्ट्र बैंकले कर्जा लगानीलाई नियन्त्रण गर्ने नीति लिएको छ। चालु आर्थिक वर्षको सुरुवातमा नै देखिएको तरलता अभावको कारणले बैंकहरुको कर्जा लगानी बढ्न सकेको छैन्। राष्ट्र बैंकले लिएका नीतिले बैंकहरुमा लगानी योग्य रकम कम भएको छ भने प्रणालीमा थप निक्षेप नथपिँदा कर्जा लगानी गर्न सकेका छैनन्। लगानीयोग्य रकम भए पनि महँगो ब्याजदरका कारणले कर्जा लगानी हुन सकेको छैन। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२.६ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य लिएको छ। राष्ट्र बैंकको लक्ष्य अनुसार चालु आर्थिक वर्षमा ५ खर्ब ६० अर्ब रुपैयाँ कर्जा विस्तार हुनुपर्छ। सो लक्ष्य भेट्नको लागि आउने ५ महिनामा बैंकहरुले साढे ४ खर्ब रुपैयाँ बढी कर्जा दिनुपर्ने हुन्छ।

 

भदौ यता बैंकहरुमा निक्षेप संकलन बढ्दै गएको छ। निक्षेप संकलन बढे पनि कर्जा लगानी भने निकै सुस्त छ। बैंकहरुको सिडि रेशियो अहिले ८६ प्रतिशतको हाराहारीमा झरेको छ। यो भनेको अझै करिब डेढ खर्ब जति कर्जा दिन सक्ने क्षमता बैंकहरुसँग छ। अहिले भने बैंकहरुले निक्षेपको ब्याजदर घटाएकोले आगामी त्रैमासदेखि कर्जाको ब्याजदर पनि घट्ने छ,यसले भने कर्जाको माग केहि बढाउने छ।