२०८१ बैशाख १४ , शुक्रवार

के पाइन्छ गाईभैंसीको दूधमा ?

सुनाखरी न्युज/ काठमाडौं। स्वाद र पोषणका लागि मान्छेले आँखा चिम्लेर खाने पेय हो दूध । खासगरी गाईवस्तुको दूध मान्छेको सर्वप्रिय पेय हो ।

 

मान्छेबाहेक अरू कुनै पनि जनावरले अर्को प्राणीको दूध खाँदैन । तर मानिस भने लामो समयदेखि गाईवस्तुको दूध खाँदै आएका छन् । गाईभैंसीको दूध त हाम्रो स्वास्थ्यको लागि असाध्यै राम्रो भनेको हामीले धेरै सुन्दै छौं । सुनेकै भरमा हामी गाईभैंसीको दूध ढुक्क भएर खान्छौं पनि । तर के साँच्चै गाईभैंसीको दूध हाम्रो लागि अमृतसरह छ त ? यसमा के कस्तो पोषक तत्त्व पाइन्छ ? गाईवस्तुको दूध कुन समयमा कति खानेलगायत विषयमा पोषणविद् आरेम कार्कीसँग गरिएको कुराकानी :स्तनधारी जनावरले खाने सबैभन्दा पहिलो खानेकुरा दूध हो । बच्चाको विकासको लागि चाहिने हरेक पोषक तत्त्व दूधमा पाइन्छ । भिटामिन, मिनरल्स, क्याल्सियम, आइरन, फ्याट, प्रोटिनलगायत पौष्टिक तत्वले शरीरको रोगसँग लड्ने क्षमता बढाउँछ । शारीरिक विकासका लागि दूध निकै महत्वपूर्ण छ ।

 

दूधमा पनि बिगौती दूध अझै पोषिलो हुन्छ । प्रकृतिले नै बच्चालाई दिनको लागि त्यो बिगौती दूध बनाएको हुन्छ । त्यसैले आमाको बिगौती दूध बच्चालाई र गाईवस्तुको बिगौती दूध उनीहरूको बच्चाको लागि महत्त्वपूर्ण हुन्छ । दूधमा कस्तो गुणस्तरको पोषक तत्व गाईवस्तु पाल्ने तरिकामा पनि भर पर्छ । हरियो घाँस खाँएका, चरेका र विभिन्न जडीबुटी खाएर हुर्किएका गाईवस्तु स्वस्थ हुन्छन् । यस्ता गाईवस्तुको दूध तुलनात्मक रुपमा बढी स्वस्थकर हुन्छ ।