२०८० चैत्र १६ , शुक्रवार

संकटपूर्ण याे परिस्थितिमा बृहत्तर राष्ट्रिय सहमति आवश्यक छ : प्रधानमन्त्री

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन् । आईतबार ७३ औं प्रजातन्त्र मुल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

 

प्रधानमन्त्री दाहालले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार क्रियाशील रहेको पनि बताए । संविधानले अवलम्वन गरेको सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्ने तथा समावेशी आर्थिक समृद्धि हासिल गर्नका लागि वृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको उनको भनाइ थियो ।

 

‘संविधानले अवलम्वन गरेको सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्ने तथा समावेशी आर्थिक समृद्धि हासिल गर्नका लागि वृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता हो,’ उनले भने, ‘देशको राजनीति र अर्थतन्त्रले संकटपूर्ण परिस्थितिको सामना गरिरहेको पृष्ठभूमिमा गठन भएको नयाँ सरकार राष्ट्रिय सहमतिसहित सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता निर्धारित गर्दै जनताको अवस्था बदल्न, सरल र सहज सेवाप्रवाहमार्फत सुशासनको प्रत्याभुत गर्न, अर्थतन्त्रका चुनौतिहरू सम्वोधन गर्दै समृद्धि संस्थागत गर्न, संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा मुलुकमा दिगो शान्ति स्थापित गर्न, देशको भूराजनीतिक अवस्थालाई हृदयंगम गर्दै स्वतन्त्र र सन्तुलित कुटनीतिक सम्बन्ध स्थापित गर्न सरकार दृढ छ ।’

 

प्रजातन्त्र दिवसको अवसरमा आन्दोलनहरूप्रति उच्च सम्मानसहित समाजवादउन्मुख राज्यको आधार तयार पार्ने राष्ट्रिय कार्यभारमा एकजुट भएर लाग्न पनि उनले आग्रह गरे ।