२०८१ बैशाख १२ , बुधवार

ब्रोकर शाखाको चुक्ता पुँजी बढ्यो, उपत्यका बाहिर ३ शाखा खोलेपछि मात्रै उपत्यकामा खोल्न पाइने

सुनाखरी न्युज/ काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीले शाखा खोल्नका लागि चुक्ता पुँजी बढाएको छ । बोर्डले ‘धितोपत्र दलाल व्यवसायीको शाखा कार्यालय खोल्नेसम्बन्धी निर्देशिका, २०७९’ जारी गर्दै उक्त व्यवस्था गरेको हो ।

 

निर्देशिकामा बोर्डले ब्रोकर कम्पनीले शाखा खोल्नका लागि १ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने उल्लेख गरेको छ । यसअघि अनुमति पाएका ब्रोकर शाखाले ६ महिनाभित्र उक्त चुक्ता पुँजी पुर्याउन पनि निर्देशिकामा भनिएको छ। यसअघि ब्रोकर शाखा खोल्नका लागि १ करोड रुपैयाँ चुक्ता पुँजी भएपछि शाखा विस्तारका लागि अनुमति दिँदै आएको थियो। साथै, ब्रोकर कम्पनीहरुले काठमाडौं उपत्यकाबाहिर कम्तीमा ३ शाखा कार्यालय खोलेपछि मात्रै अब उपत्यकाभित्र शाखा खोल्न पाउने भएका छन् ।

 

ब्रोकर कम्पनीहरु काठमाडौं उपत्यकामा मात्रै थुप्रिएपछि बोर्डले बाहिर जानका लागि बाध्यात्मक व्यवस्था गरेको हो । निर्देशिकाअनुसार ब्रोकर व्यवसायीले शाखा खोल्न बोर्डसमक्ष निवेदन दिनुपर्छ । सम्पूर्ण विवरण तथा कागजात प्राप्त भएको १५ दिनभित्र निवेदकलाई शाखा कार्यालय खोल्न स्वीकृत प्रदान गरिने बोर्डले जनाएको छ । शाखा कार्यालय खोल्न स्वीकृति प्राप्त गरेपछि कार्यालय खोल्न नसकेमा बोर्डबाट स्वीकृति रद्द भएको १ वर्षसम्म ब्रोकरले शाखा खोल्नका लागि निवेदन दिन नपाउने निर्देशिकामा उल्लेख छ । निर्देशिका कार्यान्वयनमा कुनै बाधा अड्काउ पर्न आएमा बोर्डले फुकाउन सक्ने उल्लेख छ ।