२०८१ बैशाख ६ , बिहिवार

आज ७ औँ निर्वाचन दिवस, एकीकृत निर्वाचन कानूनको मस्यौदा पेस गर्दै आयोग

सुनाखरी न्युज/ काठमाडौं । निर्वाचन आयोगले आज सातौं निर्वाचन दिवस मनाउँदैछ । यस अवसरमा आयोगले निर्वाचन व्यवस्थापन लाई उपयुक्त नीतिगत, कानूनी र संस्थागत संरचनासहित समयानुकुल बनाउन एकीकृत निर्वाचन कानूनको मस्यौदा तयार गरी पेस गर्ने भएको छ ।

 

फागुन ७ गते (आज) निर्वाचन आयोगले सातौं निर्वाचन दिवसको अवसरमा सो मस्यौदा पेस गर्न लागेको हो । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस वर्षको निर्वाचनको सञ्चालन र व्यवस्थापनका क्रममा आयोगले संविधान र कानूनको पालनासहित अवलम्वन गरेका नविन अभ्यासहरूको समीक्षाका क्रममा केही सकारात्मक पहल गर्न सकिएको अनुभव भएको बताए । उनले गत निर्वाचनका क्रममा देखिएका समस्या र चुनौतीलाई समाधान गर्न मार्गदर्शन पनि प्राप्त भएको बताए । ‘आयोगको परामर्शमा नेपाल सरकारबाट तोकिएका मितिमा शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न गराएर आयोगले आफ्नो संवैधानिक दायित्व कुशलतापूर्वक निर्वाह गरेको छ भन्न पाउँदा हामीलाई अत्यन्त खुशी लागेको छ,’ उनले भने, ‘यो वर्ष निर्वाचन आयोग तथा आम मतदाताहरूका लागि पनि विशेष वर्षको रूपमा रहेकोले सातौं निर्वाचन दिवस पनि विशेष र अविष्मरणीय रहन गएको मैले महशुस गरेको छु ।

 

‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचनः शान्ति, स्थिरता, समृद्धि र सुशासन’ भन्ने निर्वाचन आयोगको मुल मन्त्रलाई आत्मसात गरी आयोगको नेतृत्वमा सबै सरोकारवालाहरूको समन्वय, सहयोग, साझेदारी र सहकार्यमा स्थानीय तह सदस्य निर्वाचन वैशाख ३० गते र प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, मंसिर ४ गते मुलुकभर एकै चरणमा सफलतापूर्वक सम्पन्न भएका छन् । यही फागुन २५ गते र चैत ३ गते हुने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै नेपालको संविधान जारी भएपछिको दोस्रो कार्यकालका लागि सबै आवधिक निर्वाचनहरू पूरा हुनेछन् ।’वि.सं. २०१५ साल फागुन ७ गते नेपालमा पहिलो आम निर्वाचन भएर बालिग नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै फागुन ७ गते निर्वाचन दिवस मनाउने गरिन्छ । सातौँ निर्वाचन दिवसको अवसरमा प्रमुख आयुक्त थपलियाले यसै वर्ष सम्पन्न स्थानीय तह, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनबाट आफूले रोजेका प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने नागरिक अधिकारको वैधता र सुनिश्चितता प्राप्त भएकोमा खुशी व्यक्त गर्दै निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरू एवं निर्वाचनमा सहभागी सबैलाई बधाई दिएका छन् ।

 

‘निर्वाचन लोकतन्त्रको सार्थक अभ्यास गर्ने सबैभन्दा सशक्त माध्यम हो । लोकतान्त्रिक प्रणाली अन्तर्गत सम्पन्न हुने आवधिक निर्वाचनले नै प्रतिनिधिमूलक शासन व्यवस्थालाई संस्थागत र मजबुत बनाउँछ,’ उनले भनेका छन्, ‘निर्वाचनमा बालिग मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेमात्र नभई कानूनबमोजिम योग्यता पुगेका हरेक नागरिकलाई उम्मेदवार बन्ने र निर्वाचित हुने अवसर एवं अधिकार प्राप्त हुन्छ । यस तथ्यलाई मनन गरी आयोगले स्थापनाकालदेखि नै निष्पक्षता, स्वतन्त्रता, व्यावसायिकता र विश्वसनियताको प्रत्याभुतिसहित निर्वाचन व्यवस्थापनको दायित्व निर्वाह गर्दै आएको छ ।’निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानूनी र संस्थागत संरचनासहित समयानुकुल बनाउन एकीकृत निर्वाचन कानूनको मस्यौदा तयार गरी पेस गर्न लागिएको उनले बताए ।