२०८१ बैशाख ६ , बिहिवार

आज प्रजातन्त्र दिवस मनाइँदै, राष्ट्रपति–प्रधानमन्त्री लगायतले सम्बोधन गर्ने

सुनाखरी न्युज/ काठमाडौं । नेपाली जनता निरङ्कुश जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदैछ ।

 

नेपाली जनताको सङ्घर्ष र बलिदानीबाट विसं २००७ फागुन ७ गते राणा शासनको अन्त्य भई प्रजातन्त्रिक नयाँयुग प्रारम्भ भएको थियो । मुलुकमा प्रजातन्त्र स्थापनाका सिलसिलामा त्यस बेलाका होनहार युवा शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमालगायतले बलिदानी दिएका थिए। आजको दिनलाई निरङ्कुशताको बर्बरताबाट मुक्ति पाएको घटनाका रूपमा स्मरण गरिँदै आएको छ ।

 

प्रजातन्त्र दिवसको महत्वको स्मरण गर्दै राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख प्रतिपक्ष लगायतका दलका प्रमुखले नेपाली जनालाई शुभकामना सन्देश दिएका छन् । साथै ऐतिहासिक दिनका अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमूल्यजीवन बलिदान गर्ने अमर सहिदप्रति उनीहरूले श्रद्धासुमन अर्पण गरेका थिए । प्रजातन्त्र दिवस मूल समारोहको समन्वयमा राजधानीको टुँडिखेलमा प्रजातन्त्र दिवस भव्यरूपमा मनाइँदैछ । उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट महानुभावको सहभागिता रहने छ ।