२०८० चैत्र १६ , शुक्रवार

घार्मीमा महाशिवरात्रि पर्व मनाइयो

शिशिर पौडेल/ पोखरा । महाशिवरात्रि पर्व देशभर भगवान शिवको पुजा आराधना गरी मनाईएको छ। पोखरामा पनि विभिन्न ठाउँमा रहेका शिव मन्दिरमा आराध्य देव शिवको पुजा आराधना गरीएको छ।

यसै क्रममा पोखरा महानगरपालिका वडा नं १९ घार्मी मा रहेको ओमकारेश्वर महादेव मन्दिरमा पनि भगवान शिवको पुजा आराधना गरी महाशिवरात्रि पर्व मनाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिनुभयो। भगवान शिवको पुजा गर्न मन्दिर परिसरमा विहानै देखि भक्तजनको भीड लागेको थियो। विधिपूर्वक गरिएको पुजामा त्यस वरपरका क्षेत्र घार्मी, गुराँस पानी, डाँडा, कुरेचौर, हरिपाऊ, लामाचौर, बाटुलेचौर पुरून्चौर लगायतका ठाउँबाट सयौं भक्तजनहरू विहानै देखी शुद्ध दुध र जल चढाउन लामवद्ध भएका थिए। शिवरात्रि पर्वलाई विशेष बनाउन पुजा अघि घार्मी डाँडा लोक भजन संरक्षण समुहले झाँकी सहितको कलश यात्रा निकालेको थियो। डाँडाबाट शुरु भएको कलश यात्रा घार्मीका विभिन्न ठाउँको परिक्रमा गरी मन्दिर परिसरमा पुगेर भजन चुड्कामा परिणत भएको थियो। संस्कृति संरक्षण र शिव महिमा प्रस्तुत गर्ने उद्देश्यले कलश यात्रा सहित भजन चुड्का गरिएको समुहका अध्यक्ष पोषराज पौडेलले बताउनुभयो।

मन्दिर परिसरमा साँझ सम्म भगवान शिवलाई दुध र जल चढाउन भक्तजनको घुइँचो लागेको बताइएको छ। कार्यक्रममा राष्ट्रिय भजन चुड्का महासंघ कास्कीले पनि सहयोग गरेको संघका सदस्य पिताम्बर पौडेलले जानकारी दिनुभयो। शिवरात्रिकै अवसरमा नवआर्दश सामुदायिक विकास समाजले पनि कलश यात्रा निकालेको समाजका अध्यक्ष स्वागतमान सिंह भण्डारीले जानकारी दिनुभयो। लामाचौरको जलेश्वर महादेव मन्दिर परिसरबाट शुरु भएको यात्रा लामाचौरका विभिन्न शिव मन्दिरको परिक्रमा गरी सम्पन्न भएको थियो।