२०८१ बैशाख १३ , बिहिवार

के दाहालले कांग्रेसलाई वचन दिइसकेका हुन् ?

सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा मात्र होइन, प्रभावशाली नेताहरूलाई समेत भेटेर राष्ट्रपतिमा एमालेलाई होइन, कांग्रेसलाई सघाउने स्पष्ट वचन दिएका छन् ।

 

फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ मा मनोनयन दर्ताको कार्यक्रम छ । त्यसका लागि एमालेसँग सहकार्य टुटाउन र कांग्रेससँग सम्बन्ध जुटाउन प्रधानमन्त्री दाहालले योजनाबद्ध काम गरिरहेको कांग्रेस नेताहरूको दाबी छ ।

 

‘राष्ट्रपति निर्वाचनमा माओवादीले कांग्रेसलाई समर्थन गर्नेमा ढुक्क छौं, अलग–अलग नेताहरूसँग अलग–अलग भेटमा प्रधानमन्त्रीले वचन दिइसक्नुभएको छ, हामी अब माओवादीको औपचारिक निर्णयको प्रतीक्षामा छौं,’ कांग्रेसका एक प्रभावशाली नेताले भने, ‘प्रधानमन्त्रीमा माओवादी र सभामुखमा एमाले निर्वाचित भइसकेकाले माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गर्छ, लगत्तै कांग्रेस बैठक बसेर उम्मेदवार छान्ने तयारी छ ।’

राष्ट्रपतिमा समर्थन पाए दाहाललाई पाँचै वर्ष पनि प्रधानमन्त्री मान्न कांग्रेस तयार छ । प्रवक्ता प्रकाशशरण महतले भने, ‘संवैधानिक व्यवस्थाअनुसार चल्ने राष्ट्रपति चाहिन्छ भन्ने हाम्रो मान्यता हो, यसमा प्रधानमन्त्रीजी सहमत हुनुहुन्छ । कांग्रेसले अस्थिरता चाहेको छैन, आवश्यक परे प्रचण्डजीलाई नै आगामी पाँच वर्ष प्रधानमन्त्री स्वीकार गरेर अघि बढ्न तयार छौं ।’

त्यसो त सत्ता बाँडफाँटमा कांग्रेस र माओवादीबीच पुस पहिलो साता भएको समझदारी तत्कालै भत्किएको थियो । पुस ४ मा सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्का बसेर आफूलाई प्रधानमन्त्री दिन सहमत भए पनि पछि धोका भएको दाहालको गुनासो छ । त्यतिबेला व्यक्ति–व्यक्तिबीचको समझदारी भए पनि यसपालि प्रधानमन्त्री दाहाललाई कांग्रेसले संस्थागत रूपमा विश्वास दिलाउन खोजेको छ । महामन्त्री गगन थापा भन्छन्, ‘नेताहरूबीच हुने गोप्य सम्झौता नै समस्या हुन्, त्यस्तो सम्झौतामा दल जिम्मेवार हुँदैन, मैले प्रधानमन्त्रीजीलाई भेटेर यस पटक सिंगो कांग्रेससँग सम्झौता गर्नुहोस्, दुई वर्ष, तीन वर्ष वा कति समय तपाईं सरकारको नेतृत्वमा रहने रु कति समय कांग्रेसलाई दिने रु त्यसबारे खुलस्त सहमति गरौं, निर्वाचनमा भएको गठबन्धन र संविधानको भावनाबमोजिम अघि बढौं भनेको छु ।’ दुई दलको सत्ता स्वार्थका लागि होइन, संविधानको रक्षा र कार्यान्वयनका लागि सहकार्यको पहल भइरहेको दाबी उनले गरे ।

 

२६ पुसमा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको कांग्रेस त्यसयता राष्ट्रपति निर्वाचनमा केन्द्रित छ । निर्वार्चनको परिणाम कांग्रेसको पक्षमा ल्याउन सभापति देउवा, वरिष्ठ नेताहरू रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला मात्र होइन, नेता शेखर कोइराला र महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा पनि एकढिक्का छन् ।

एमाले अध्यक्ष ओलीले लगातार दुई पटक संसद् विघटन गरेको र राष्ट्रपति संस्थालाई ‘रबरस्ट्याम्प’ का रूपमा प्रयोग गरेको आरोप लगाउँदै आएको कांग्रेस यसपालि आफ्ना उम्मेदवारलाई राष्ट्रपति बनाउने पक्षमा छ ।

संघ र प्रदेशका पदमा एमालेसँग प्रतिस्पर्धा गर्दै आएको कांग्रेसले माओवादीलाई भने साथ दिएको छ ।

यसबीचमा सभापति देउवा आफैंले पटक–पटक प्रधानमन्त्री दाहाललाई भेटेका छन् भने उपसभापति खड्का, महामन्त्री थापा र प्रमुख सचेतक रमेश लेखकसहित नेताहरूमार्फत पनि संवाद गरिरहेका छन् ।

स्रोतका अनुसार राष्ट्रपति उम्मेदवारका विषयमा पनि नेताहरूबीच छलफल भएको छ ।

कांग्रेसले चुनाव सकिएको तीन महिनासम्म समीक्षा बैठकसमेत गरेको छैन । ‘सभापतिजीले माओवादीलाई विश्वासमा लिन ठूलो मिहिनेत गर्नुभएको छ । यति लामो समयसम्म चुनावी समीक्षा बैठकसमेत नगरेको भनेर आलोचना भइरहेको छ । तर, बैठक गर्दा माओवादीका विषयमा घोचपेच हुन्छ र त्यसले वातावरण बिग्रन्छ भनेर पनि बैठकलाई राष्ट्रपति निर्वाचनभन्दा पछिलाई धकेलिएको छ,’ एक पदाधिकारीले भने ।