२०८१ बैशाख १३ , बिहिवार

स्कटल्यान्डमाथि नेपालको सानदार जित

सुनाखरी न्युज/ काठमाडौं ।
नेपालले स्कटल्यान्डविरुद्ध विश्वकप लिग-२ मा ३ विकेटको सानदार विजय हात पारेको छ । नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा २ सय ७५ रनको लक्ष्य १८ बल अगाडि नै पूरा गर्‍यो।

 

लिग-२ मा नेपालको यो लगातार दोस्रो जित हो । कुशल भुर्तेलको शतक र कप्तान रोहित पौडेलको ७२ रनमा नेपालले मंगलबार नामिबियामाथि २ विकेटको विजय हात पारेको थियो । नेपालले स्कटल्यान्डलाई पराजित गरेको यो केवल दोस्रो पटक हो ।

 

कुशल र दीपेन्द्रले छैटौं विकेटमा १ सय रनको साझेदारीले नेपाललाई लक्ष्य पूरा गरेको हो । कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्का प्रहार गरी ८१ रन बनाए । सन् २०२० मा अमेरिकाविरुद्ध आफ्नो डेब्युमा ५० रन बनाएयता कुशलको यो पहिलो अर्धशतक हो । उनले गुलशन झासँग सातौं विकेटमा ४३ रनको साझेदारी गरे । दीपेन्द्र ८५ रन बनाई अविजित रहे । उनले १ सय १६ बल खेली ८ चौका र १ छक्का प्रहार गरे । गुलशनले २८ बलमा १ चौका प्रहार गरी २७ रन बनाए । दीपेन्द्रले सोमपालसँग आठौं विकेटमा ५५ रनको अविजित साझेदारी गरे । विजयी चौका प्रहार गरेका सोमपालले ३२ बल खेली ३ चौका प्रहार गरी २४ रन बनाए ।

क्रिस सोलको पहिलो ओभरमा कुशल भुर्तेलले ४ चौकासहित २३ रन जोडे पनि नेपाल त्यसपछि पतन हुन पुगेको थियो । सोलले भुर्तेललाई १६, ज्ञानेन्द्र मल्ललाई ४ र आसिफ शेखलाई ९ रनमा आउट गरे । रोहित ६ र सन्दीप जोरा ५ रनमा आउट भएपछि नेपालले ११ ओभरमा ७७ रन बनाउदा ५ विकेट गुमाइसकेको थियो ।

यसअघि माइकल लिस्कलले अविजित १ सय ७ रन बनाएपछि टस हारेर ब्याटिङमा आएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय ७४ रन बनाएको थियो ।