२०८१ बैशाख १५ , शनिवार

उकालो लाग्दै महङ्गीको ग्राफ

सुनाखरी न्युज/ काठमाडौं । मूल्यवृद्धिका कारण आम मानिसको दैनकी कठिन बन्दै गएको छ । मूल्यवृद्धिका कारण ज्याला मजदूरी गरेर जिविकोपार्जन गर्नेदेखि सबैखाले वर्गलाई सकस पर्दै गएको गुनासो बढ्रो क्रममा छ । अहिलेकै तुलनामा मूल्यवृद्धि बढ्दै गएमा आगामी वर्षसम्म दैनिक उपभोग्य वस्तुको मूल्य १२ प्रतिशतसम्म बढ्नसक्ने आंकलन नेपाल राष्ट्र बैंकको छ ।

 

अझं, यस्तो अवस्थाले ज्याला मजदूरी गरि खाने सर्वसाधारणलाई थप मर्का पर्ने र गुजारा चलाउन नै मुस्किल पर्ने देखिन्छ । नेपाल राष्ट्र बैंकले गरेको एक सर्वोक्षणअनुसार आगामी दिनमा बजार भाउ निकै आकाशीने देखिएको छ । नागरिकको जिवन कष्टकर बन्ने, आयस्रोत घट्ने, उत्पादनशिल कर्जा प्रवाह नहुने तथा ज्याला मजदुरी गरेर जीवन गुजारा गर्नेहरु थप समस्यामा पर्ने देखिन्छ । दैनिक उपभोग्य वस्तुको बजार भाउ दिनप्रतिदिन बढ्न थालेको व्यवसायीहरुले बताएका छन् । नेपाल राष्ट्र बैंककाअनुसार आगामी १ वर्षपछि नेपाली बजारको अपेक्षित मुद्रास्फ्रीति दर १२ प्रतिशत बढ्ने प्रक्षेपण छ ।

 

राष्ट्र बैंकले यही वर्ष २०२३ को जनवरी ८ देखि १४ सम्म देशका ६० स्थानमा सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा सहभागीमध्ये धेरैले आगामी १ वर्षपछि देशमा महँगी दर १२ प्रतिशतसम्मले बढ्ने अनुमान गरेका थिए । यस्तै, अधिकांशले आगामी ३ महिनामा नै महँगी १० प्रतिशतले बढ्ने बताएका छन् । सर्वेक्षणमा सहभागीहरूले माछा, मासु, दूध, घ्यू, तेल र होटल तथा रेष्टुरेन्टहरुमा महँगी बढ्ने आशंका गरेको छन् । मुलुक आयातमा परनिर्भता बढ्दै गएको तथा आन्तरिक उत्पादनमा कमी आएकाले पनि राष्ट्र बैंकले गरेको प्रक्षेपण भन्दा बढि महंगी बढ्न सक्ने उपभोक्ता अधिकारकर्मीका दाबी छ ।