२०८० चैत्र १६ , शुक्रवार

गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा लगायत विषयमा केन्द्रीत रहि देशव्यापी अभियान प्रारम्भ

सुनाखरी न्युज/ काठमाडौं । मानव अधिकार तथा शान्ति समाजको २४ औँ र २५ औँ राष्ट्रिय परिषद् बैठकद्वारा पारित नीति कार्यान्वयन सम्बन्धमा देशव्यापी अभियान प्रारम्भ भएको छ ।

यस क्रममा गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा : सबैको अधिकार, महिला अधिकार : मानव अधिकार, विकासमुखी राजनीति, सेवामुखी राज्यनीति, उद्यममुखी समाज र अधिकारमुखी संस्कृति लगायतका विषयमा केन्द्रीत रहि प्रदेश १ का ८ जिल्लामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सभापति रामकृष्ण बरालले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्नुभएको अन्तरक्रिया कार्यक्रमहरुमा शान्ति समाजका निवर्तमान सभापति गोबिन्द खनाल, पुर्व सभापति उत्तम पुडासैनी, प्रदेश १ सचिव लक्ष्मी नारायण मिश्र, केन्द्रिय सदस्य ज्ञानेन्द्र निरौला, काठमाडौं शाखा सभापति भगवान पुडासैनी लगायतले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमहरुमा शान्ति समाजद्वारा तयार गरिएको ४ पृष्ठको जानकारी पत्र प्रस्तुत गरिएको थियो भने राजनीतिक समाज, नागरिक समाज लगायत विभिन्न क्षेत्र र पेसागत संस्थाका प्रतिनिधिहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

माघ २४ गते सुनसरी शाखा सभापति डा. विकास साहको सभापतित्वमा २५ गते झापा शाखा सभापति सुशिला रिजालको, २६ गते रामकृष्ण बरालको सभापतित्वमा २७ गते पाँचथर शाखा सभापति क्षोमाया तामाङ, २८ गते धनकुटा सभापति हरि लम्जेल र तेह्रथुम शाखा उपसभापति डिल्लीराम रेग्मी, २९ गते संखुवासभा शाखा उपसभापति निर्मला गुरुङ र फागुन १ गते मोरङ शाखा सभापति प्रा.डा. जीवन ढकालको सभापतित्वमा पहिलो चरणको अन्तरक्रिया इटहरी, चारआली, इलाम, फिदीम, धनकुटा, म्याङ्लुङ, खाँदवारी र विराटनगरमा कार्यक्रम सम्पन्न भएको थियो । दोस्रो र तेस्रो चरणमा गरि ३५ जिल्लामा अन्तरक्रिया कार्यक्रम आयोजना हुनेछ ।
यसैगरी टर्की र सिरियामा हालै आएको भुकम्पका कारण जीवन गुमाउने हजारौ नागरिकप्रति श्रद्धाञ्जली एवं चीर शान्तिको कामनासहित मानव अधिकार तथा शान्ति समाज काठमाडौ शाखाले माघ २८ गते साँझ शान्ति स्तुपा बौद्ध अगाडि मैनबतीसहित मौन प्रदर्शन गरेको थियो भने तेह्रथुम शाखाले म्याङ्लुङमा र संखुवासभा शाखाले खाँदबारीमा सोही सन्दर्भमा कार्यक्रम गरेका थिए ।